|

घोराही : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।

मिश्रित निर्वाचन प्रणालीका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने वेला आएको बताए।

नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नैपर्ने बताए। नेपालको संविधान २०७२ मा रहेका केही त्रुटि संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

नेता कोइरालाले नयाँ संविधान जारी गर्ने वेला गरिएको निर्वाचन प्रणालीको परिकल्पना ठिक भए पनि यसको गलत प्रयोगले अस्थिरता निम्त्याएको भन्दै राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एकै स्थानमा उभिने समय आएको जानकारी दिए। पटक–पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेको भन्दै नेता कोइरालाले सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने र त्यसको प्रत्यक्ष असर विकासमा हुने भएकाले अस्थिरता घटाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए।

‘अब कांग्रेसको बाटो यही हो। यसका लागि दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ’‚ उनले भने, ‘राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दीको डरलाग्दो अवस्था आएको, मन्दीका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका छन्।’

निर्वाचन प्रणाली पुनर्विचारका लागि यो विषयमा पार्टी र सदनमा कुरा उठिसकेको भन्दै नेता कोइरालाले अब कांग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विवादित सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पीडितमैत्री विधेयक बन्नुपर्ने बताए। कोइरालाले टिआरसी विधेयक राजनीतिक लेनदेनको विषय बन्न नहुने पनि स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.