|

पर्वत : सर्वसम्मत हुन नसकेपछि अन्ततः निर्वाचनमा पुगेको नपाल कम्युनिष्ट पार्टी एमाले पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन्।

आफ्ना प्रतिद्वन्द्वी पदमपाणी शर्मालाई १२१ मतको अन्तरले पराजित गरेका हुन्। पहाडीको पक्षमा दुई सय ४८ मत आउँदा शर्मालाई एक सय २७ मत प्राप्त भएका छन्। अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारीमा नै पहाडी पक्षका उम्मेदवारहरुले जीत हात पारेका छन्।

उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठलाई ६९ मतले पराजित गरेका छन्। लामिछानेको पक्षमा दुई १७ मत आउँदा श्रेष्ठको पक्षमा एक सय ४८ मत परेका छन्। सचिवमा सुवासचन्द्र पौडेलले शिवप्रसाद पौडेललाई १६ मतले पराजित गरेका छन्। सुवासको पक्षमा एक सय ८८ मत आउँदा शिवलाई एक सय ७२ मत आएका छन्। यस्तै, उपसचिव पदमा चण्डी प्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई १६ मतले नै पराजित गरेका छन्। भुर्तेलले एक सय ८८ मत पाउँदा उचैले एक सय ७२ मत पाएका छन्।

यस्तै, महिला उपसचिवमा विन्दु अधिकारीले सरिता भण्डारीलाई ७१ मतको अन्तरमा पराजित गरेका छन्। अधिकारीले दुई सय १६ मत पाउँदा भण्डारीले एक सय ४५ मत पाएका छन्।

एमाले पर्वतको १० औँ अधिवेशन गत मङ्गलबारदेखि सुरु भएको थियो। सुरुबाट नै सहमतिका लागि नेताहरूबीच कुरा हुँदै आएको भए पनि नवौँ महाधिवेशनमा जस्तो सर्वसम्मतको सम्भावना देखिएको थिएन। मुख्य गरी वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री। पदम गिरी र राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरेर एमाले पर्वतमा दुई ‘प्यानल’ देखिएका थिए।

नेपाल कम्युनिस्ट पार्टी एमाले पर्वतको अवस्था पनि प्रदेश राजधानीसमेत रहेको कास्की जिल्लाकै जस्तो रह्यो।

गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटीसमेत रहेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको प्यानलबीच कुरा नमिल्दा अधिवेशन चुनावमा पुगेको थियो। पिएस (पृथ्वी सुब्बा) र अधिकारी गुटले कास्कीमा जस्तो प्रभाव पारेको थियो पर्वतमा पनि त्यस्तै परिणाम आएको छ। दुवै शक्ति गण्डकी प्रदेशबाट भएकोले उनीहरूबीच आफ्नो पकड कायम गर्ने होडबाजी चल्दै आइरहेको छ।

मन्त्री गिरीको प्यानल प्रदेशमा खगराज अधिकारी पक्षमा झुकाव राख्छ भने तिमिल्सिना पक्षले पृथ्वी सुब्बाको समूहमा झुकाव राख्छ।

नवौँ महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष बनेका राजु प्रसाद पौडेलले फेरि पनि आफू नै अध्यक्षमा दोहोरिन खोजेका थिए। उनकै पक्षधर मानिने उपाध्यक्ष पदमपाणी शर्माले पनि अध्यक्षमा दाबी गरे। तर ‘प्यानल’ नै बनाएर चुनावमा जानुपर्ने अवस्था आएपछि पौडेल ‘ब्याक’ हुँदै शर्माले आफ्नो गुटको उम्मेदवारको रुपमा अगाडि सारे।

नवौँ महाधिवेशनबाट सचिव बनेका गोविन्द पहाडीले पनि अध्यक्षमा लड्ने मनस्थिति बनाएका थिए। राजुप्रसाद पौडेलले पदमा दोहोरिन खोजेपछि त्यो गर्न नहुने पक्षमा मन्त्री गिरीको ‘प्यानल’ थियो। गिरीको पक्षबाट पहाडी पनि ‘ब्याक’ नहुने भएपछि अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.