|

काठमाडौं : मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ। वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन्।

यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा छ। होली पर्वमा रङ अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ।

जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ। पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे। अचेल यो परम्परा लोप हुँदै गइरहेको छ।

मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ। जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा ‘सेभ हिस्टोरिकल जनकपुरधाम’को अगुवाईमा केही वर्षयतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ।

शितलताको प्रतिकका रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले बताए।

जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ। यस हिसावले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने गरेको उहाँको भनाई छ। यसका अतिरिक्त जुडशितल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण छ। शरीरमा हिलो र पानी  हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ।

गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्युन हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोदकुमार झाले बताए। यसअघि मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको सतुवाईन पर्व मनाइएको छ। पर्वको अवसरमा घर–घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ।

घरका देवीदेवतालाई प्रसादका रुपमा सातु अर्पण गर्ने गरिन्छ। त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्दछन्। चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.