|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रेक्टर (शिक्षाध्यक्ष) प्राडा खड्ग केसी र रजिष्ट्रार (कुलसचिव) प्राडा केदारप्रसाद रिजालले कार्यभार सम्हालेका छन्। आइतबार नवनियुक्त शिक्षाध्यक्ष प्राडा केसी र रजिष्ट्रार प्राडा रिजालले कीर्तिपुर स्थित कार्यालयमा पदबहाली ग्रहण गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९(१) बमोजिम शिक्षाध्यक्ष र दफा २०(१) बमोजिम रजिष्ट्रार पदमा  प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको सिफारिसमा उनीहरुलाई  शुक्रबार नियुक्त गरिएको थियो।  

नवनियुक्त शिक्षाध्यक्ष प्राडा केसी मोदी गाउँपालिका-५, पर्वत स्थायी घर भई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका पूर्व प्रमुख समेत हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र विषयमा स्नातकोत्तर उनले जापान सरकारको छात्रवृत्तिमा जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।

जापान सरकारको मोनबुशो संस्थामा सन् २००० देखि सन् २००९ सम्म र जापान फाउन्डेशनमा सन् २०१२ जुलाई देखि मार्च २०१३ सम्म आबद्ध रही महत्त्वपूर्ण योगदान दिएका उनी चीनको सिचुवान विश्वविद्यालयको अतिथि प्राध्यापक साथै नेपाली सेना कमाण्ड र स्टाफ कलेज, एपिएफ कमाण्ड र स्टाफ कलेजमा अतिथि प्राध्यापकका रूपमा संलग्न छन्। 

त्यसैगरी टोखा नगरपालिका-११ काठमाडौं स्थायी घर भई वातावरण विज्ञान विषयका प्राध्यापक रहेका नवनियुक्त रजिष्ट्रार प्राडा रिजाल वातावरण विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवं नेपाल खुला विश्वविद्यालयमा  विज्ञान स्वास्थ्य तथा प्रविधि संकायका डिन समेत रहेका थिए।

प्राडा रिजालले भारतको पूणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.