मन्त्रालय भन्छ- अबदेखि ट्रयाकिङ हुन्छ
मन्त्रालय भन्छ- अबदेखि ट्रयाकिङ हुन्छ
काठमाडौं : सरकारले हिजो (वैशाख २ गते) देशभर नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना अभियान थालेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनुसन्धान तथा गुणस्तर सुधार शाखाका निर्देशक गोविन्दराज पोख्रेलका अनुसार अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, मन्त्रालयलगायत निकायको सहभागिता र शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम राखियो।
वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण गर्नेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।
सरकारले यसैगरि हरेक वर्ष तामझामका साथ नयाँ भर्नाको अभियान थाल्छ। घरदैलो कार्यक्रम नै हुन्छ तर बीचमै विद्यार्थीहरू पढाई छाड्दा भने यसको कारणबारे भने कुनै अध्ययन गर्न सकेको छैन राज्यले। जसकारण यो समस्या झनै विकराल बन्दै गएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०७१ सालमा ११ लाख ३६ हजार ४३३ विद्यार्थीहरू कक्षा १ मा भर्ना भएका थिए। तर २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ५ लाख ४ हजार विद्यार्थीले मात्रै फाराम भरेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
उनका अनुसार ४ लाख ७५ हजारले मात्र प्रवेशपत्र लिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षामा अनुपस्थित रहे। देशभरबाट ४ लाख ६७ हजार जनामात्र परीक्षामा उपस्थित भएका छन्।
एसइईमा ३७ हजार विद्यार्थी अनुपस्थित रहे। २०७१ सालको भर्ना संख्यालाई हेरेर कक्षा १० सम्म आइपुग्दा ६ लाख ३२ हजार ४३३ जना विद्यार्थीहरू बीचमै पढाइ छाडेको देखिन्छ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाका अनुसार हरेक वर्ष करिब १० लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका हुन्छन्। तर कक्षा १० सम्म पुग्दा ४/५ लाखले मात्रै विद्यार्थीले एसइई परीक्षा दिएको सरकारी तथ्यांकले नै देखाउँछ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पछिल्लो समय भर्ना संख्या दर नै घट्दै गएको बताउँछन्। उनका अनुसार १४ वर्षअगाडि हरेक वर्ष कक्षा १ मा १४ लाख विद्यार्थी भर्ना हुन्थे।
तर अहिले भर्ना संख्या दर नै घटेर ९/१० लाखको हाराहारीमा आइपुगेको छ। उनले भने, ‘कक्षा १ देखि २ मा जाँदा १३ प्रतिशत विद्यार्थी घट्छन, १ देखि ५ मा जाँदा १५ प्रतिशत विद्यार्थी घटेका हुन्छन्।’
किन हराउँछन् लाखौँ विद्यार्थी?
शिक्षाविद् कोइराला भर्ना भएका विद्यार्थीहरू अध्ययनबाट टाढा हुनुको मुख्य कारण गरिबी रहेको बताउँछन्।
‘सुरूमा विद्यालयमा धेरै विद्यार्थी भर्ना भएका हुन्छन् तर गरिबी, चेतनशील समाज नहुँदा, शिक्षा प्रणाली राम्रो नहुँदा विद्यार्थीहरू स्कुल छाड्दै जान्छन्,’ उनले भने।
पछिल्लो समय नेपालमा रोजगारी नपाएका कारण विदेशिनेको लर्को छ। त्यसैले पनि समाजमा पढेर के हुन्छ भन्ने धारणा छ। ‘समाजले नै विद्यार्थीलाई पढ्नमा हौसला दिएका हुँदैनन्,’ उनले भने, ‘जसले झनै विद्यार्थीको मानसिकतामा पढाइको महत्व नहुने रहेछ भन्ने भ्रम पैदा हुन्छ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशी पढ्दापढ्दै बीचमा पढाइ छाड्नुको कारणहरू धेरै रहेको बताउँछन्। उनले भने, ‘गरिब, अन्तरराष्ट्रिय बसाइसराई, बेरोजगारी‚ पठनपाठनमा गुणस्तरीय नहुनुलगायत कारणले विद्यार्थीहरू पढाइ छाड्ने गरेका छन्।’
परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का नियन्त्रक पौडेल पनि आर्थिक समस्याकै कारण पढ्न छाडेको बताउँछन्। उनका अनुसार अर्को कारणमा सामाजिक परिवेश पनि हो।
पछिल्लो समय यहाँ पढेर पनि रोजगारी पाइँदैन‚ त्यसैले विदेश नै जानुपर्छ। त्यसो त पढेर किन समय खेर फाल्छौ भन्ने नकारात्मक सोचका सुझाव दिने गरिन्छ।
‘यसकारण पनि पढ्दापढ्दै विद्यार्थीहरूको मानसिकता परिवर्तन हुन्छ अनि कतिपय विद्यार्थीले पढाइ छाड्छन्,’ उनले भने, ‘कोही परीक्षा दिन छाडेर विदेश पलायन हुन्छन्।’
नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारी कक्षा १ देखि १२ सम्मकै ट्रेण्ड हेर्दा प्रत्येक कक्षामा विद्यार्थीहरूले पढ्दापढ्दै छाडेको देखिएको बताए। उनले भने, ‘यसमा धेरै कारण छन्, जस्तो बसाइसराइ, गरिबी, अभाव, कमजोर पढाइले पढाइ छाड्छन्।’
उनका अनुसार स्कुलसम्म विद्यार्थीे पुग्ने वातावरण दिनमा अभिभावकको समेत ठूलो हात हुन्छ।
अभिभावकको भूमिकाबारे भण्डारी भन्छन्, ‘सबै अभिभावकको इच्छा नै छोराछोरी पढुन्, पछि राम्रो जागिर खाउन् भन्ने हुन्छ, छोराछोरीकै लागि अभिभावक दिनरात खटिन्छन्, सक्दो पढाइको लागि दुःख गरिरहेका हुन्छौँँ तर कतिपय अभिभावक गरिबीका कारण इँटाभट्टामा काम गर्छन्, त्यहीँ छोराछोरीलाई पनि काम गराउँछन्।’
स्कुलमा टिकाइराख्न के गर्ने ?
सरकारले कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम सुरू गरेको हो।
सरकारले यसको लागि वर्षेनि अर्बौं खर्च गरेको छ र पनि विद्यार्थी पढाइमा आकर्षित भएका छैनन्। सरकारले विद्यार्थीको हौसला, उत्साह ल्याउने खालका कार्यक्रम सञ्चालन गरेमा विद्यार्थी दर नघट्ने शिक्षाविद् कोइरालाकाे बुझाइ छ।
उनका अनुसार स्थानीय सरकारले विद्यार्थीलाई स्कुलमा जान उत्साहित गर्न ५/१० रूपैयाँ दिने व्यवस्था गर्नुपर्छ। शिक्षकको भूमिका पनि राम्रो हुनुपर्छ। माया, ममतासँगै विद्यार्थीले घरमा पढेका कुराहरूलाई पनि स्कुलमा जोड दिनुपर्छ। बालबालिकालाई मनोरञ्जनको वातावरण पनि दिँदा पढाइमा आकर्षित हुन्छन्।
‘ट्रयाकिङ गर्ने व्यवस्था हुन्छ’
नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले वर्षेनि विद्यार्थी भर्ना भएर पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति बढेको तर सरकारले यसतर्फ कुनै चासो नदेखाएको बताए।
उनले भने, ‘राज्यले भर्ना गर्ने वेला निःशुल्क शिक्षा भन्दै सबै भर्ना गर्नु/हुनु भन्छ, अभियान नै चलाउँछ तर भर्ना भएपछि कसरी पढ्दै छन् भनेर खोजी गर्दैन, बरू उल्टो बालबालिकालाई भर्ना नगरे कारबाही गर्ने भन्दै छ।’
राज्यबाट विद्यार्थीको ट्रयाकिङ गर्नुपर्ने माग उनको छ। उनले भने, ‘विद्यालय व्यवस्थापन, विद्यालय, स्थानीय तह, शिक्षा एकाइ सबैले विद्यार्थीको अनुगमन गरेर किन पढाइ छाडे भनेर कारण पत्ता लगाएर उनीहरूको पीर मर्का बुझिदिए यस्तो समस्या दोहोरिने थिएन।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी जोशीले अबदेखि विद्यार्थीहरूको ट्रयाकिङ गर्ने व्यवस्था हुने बताए।
‘सबै कुरा हेर्न हामीले सक्दैनौँ त्यसैले किन विद्यार्थीहरू बीचमा पढाई छाड्दै छन्,उनीहरू कहाँ कहाँ गएका छन् भनी स्थानीय तहबाट उनीहरूको ट्रयाकिङ गर्ने भन्नेमा केन्द्रित भएका छौँ। अब यो कामको थालनी हुन्छ, यसका लागि स्थानीय तहलाई निर्देशन दिन्छौँ,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।