‘सहकारीले पैसा फिर्ता नदिँदा परिवारभित्रै बोलचाल बन्द भइसक्यो’

|

काठमाडौं : सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी बचतकर्ताहरुले दुःखेसो पोखेका हुन्।

उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गई पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए।

पत्रकार सम्मेलनका क्रममा एक सहकारी पीडितले विदेशबाट आफ्ना भाइले पठाएको रकम सहकारीमा जम्मा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए।

उनले भाइले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए। उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाऊँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।

उनले भने, ‘विदेशबाट भाइले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ। अहिले भाइले पैसा मागेको छ। तर मसँग दिने पैसा छैन, भाइ मसँग रिसाएको छ। बोलचाल छैन । सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन। पुलिसले पनि सुनेन। हामी अरुको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ। सरकारले गरिब जनताको आवाज सुनेन। हामी गरिब दुःखीको सुनुवाई कहिले हुन्छ?’

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए। गरिब दुःखीको सुनुवाई कहिले हुन्छ? भन्ने उनीहरुको प्रश्न थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.