धुलिखेल : काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज (शुक्रवार) सम्झौता गरेको छ।
निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ।
तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्ययन प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताअनुसार उत्पादन शुरु गर्ने उल्लेख छ।
उक्त परियोजनाले हाल ३ हजार २ सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ।
सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिजका संयोजक डा राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढङ्गले सुरक्षित रुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याइने गरी उत्पादन गरिने बताए। उनका अनुसार केयूलाई थप अनुसन्धान गर्न जलविद्युत् आयोजनाको सम्झौताले सहज भएको छ।
हाइड्रोजन उत्पादनको दायरा बढाउन अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न सकिने केयूले जनाएको छ।
कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए।
उनले प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रीन हाइड्रोजन उत्पादन गर्नसके उत्पादन बढाउँदै लैजाने बताए।
“पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्छौं, त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजनामा छौँ”, उनले भने। उनका अनुसार उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिनेछ।
२ वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते औपचारिक रुपमा ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो।
केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको हो।
निगमकै सहयोगमा कात्तिकमा कोरियाबाट हुण्डाईको नेक्सो कार भित्र्याउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ।
यसका लागि निगमले केयूलाई ५ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। उक्त सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलरको कार, १ करोड ३० लाख रुपैयाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ।
ल्याबका प्रमुख थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरलाई धाराको पानी र बिजुली दिएपछि पानी प्रशोधन गर्ने, प्रशोधिन पानीबाट हाइड्रोजन उत्पादन गर्ने, उत्पादित हाइड्रोजनलाई ड्राइङ, प्युरिफाइ गरी, लो प्रेसर ट्याङ्कमा भण्डार गर्ने र लो प्रेसर ट्याङ्कमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्कको माध्यमबाट कारमा रिफिल गरिन्छ।
अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत २ किलोग्राम हाइड्रोजन उत्पादन हुने गर्छ।
केयूमा स्थापित हाइड्रोजन स्टेशनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ युनिट बिजुली खर्च हुन्छ।
केयूमा भित्र्याइएको हुण्डाईको नेक्सो कारमा ६ किलोग्राम हाइड्रोजन भर्न सकिने र उक्त हाइड्रोजनबाट ६५० किलोमिटर यात्रा गर्न सकिन्छ।
केयूले ३०/३५ वटा हाइड्रोजन सवारीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न नमूना आयोजना तयार गर्ने लक्ष्यसमेत अघि बढाएको जनाएको छ।
अध्ययनका क्रममा प्रयोगात्मक अभ्यासका लागि हाइड्रोजन उत्पादन गरिए पनि यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको पोखरेलको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।