|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयले आइतवार (हिजो) सञ्चालन गरेको प्रवेश परीक्षामा २४० जनाभन्दा धेरै परीक्षार्थी सहभागी भए।

कक्षा १ देखि ९ सम्म जम्मा ११० जना नयाँ विद्यार्थी भर्ना लिन सकिने क्षमता भएकाले सोहीअनुसार कोटा निर्धारण गरिएकोमा क्षमताभन्दा दोब्बर विद्यार्थी आएपछि प्रवेश परीक्षा लिनु परेको हो।

बेनी नगरपालिका–७ बेनीबजारमा अवस्थित बेनी सामुदायिकमा हरेक वर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ। शहरदेखि गाउँमा रहेका सामुदायिक र निजी विद्यालय छोडेर आएका विद्यार्थीले आइतवार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागिता जनाएका हुन्।

एक सातासम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटासहितको विवरण बुझाएर प्रवेश परीक्षामा सहभागी भएका थिए। 

भित्र कोठामा परीक्षा दिइरहेका विद्यार्थीका अभिभावकहरुको भिडभाड भने  विद्यालय परिसर तथा आसपासका क्षेत्रमा वार्षिक परीक्षाजस्तै लाग्ने गरी देखिन्थ्यो। 

भौतिक संरचना र जनशक्तिको अभावले १ देखि ९ कक्षासम्म क्षमताअनुसार ११०  विद्यार्थी भर्ना लिन गरिएको परीक्षामा २४० भन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। 

भौतिक पूर्वाधारको अभावले आएका जति सबै विद्यार्थी भर्ना गर्न समस्या भएकाले प्रवेश परीक्षा रहर नभई बाध्यता भएको प्रधानाध्यापक दीपक श्रेष्ठले बताए। 

भौतिक संरचना, शिक्षक दरबन्दीको अभावलगायतका कारण आवेदन दिएका सबै विद्यार्थी भर्ना गर्न असमर्थ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाको भनाइ रहेको छ।

शिक्षा मन्त्रालयले विसं २०७० मा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषितसँगै आर्थिक वर्ष ०७९/८० मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले गरेको मूल्याङ्कनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालय घोषित भएको थियो।

विद्यालयमा हालसम्म देशभरिबाट १६८ विद्यालयले अवलोकन भ्रमणसमेत गरेका छन्। 

बेनी नगरपालिका–६ का दिनेश खत्रीले बेनी सामुदायिक विद्यालयभित्रको वातावरण देखेर छोरालाई भर्ना गर्न आएको बताए। उनले छोरालाई प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारीसमेत गरेर ल्याएको जानकारी दिए।

बेनी सामुदायिकमा अंग्रेजी माध्यमबाट अध्ययन, अभिभावकको निगरानी, सिकाइ उपलब्धि, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेरा जडानलगायत विभिन्न गतिविधिलाई डिजिटल माध्यमबाट हुने प्रस्तुतिले समेत अभिभावकको ध्यान तान्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.