|
शुक्रवार मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पीयू केन्द्रीय कार्यालयमा आयोजित १२औँ दीक्षान्त समारोहमा आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहका गोल्ड मेडलिस्ट नारायण ढुङ्गानालाई स्वर्ण पदक प्रदान गर्दै प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालय (पीयू) का कुलपति पुष्पकमल दाहाल प्रचण्ड। तस्वीर : रासस

सुन्दरहरैँचा : पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थी दीक्षित भएका छन्।

आज यहाँ आयोजित दीक्षान्त समारोहमा कला सङ्कायतर्फ स्नातक तहमा ८२ जना र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो। 

कानुन सङ्कायमा स्नातकतर्फ २६४ र स्नातकोत्तर १०७, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा ६३६ र स्नातकोत्तरतर्फ १६७, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा १ हजार ५४२, स्नातकोत्तरमा ७६० र एमफिल तहका ३ जनालाई उपाधि प्रदान गरियो।

विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ ६३४, स्नातकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरियो। साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ ८९२, स्नातकोत्तरतर्फ १०८ जनालाई दीक्षित गरियो।

चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ २ हजार ४६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा २ हजार ४७८ जनालाई उपाधि प्रदान गरियो।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्कृष्ट विद्यार्थीहरुलाई उपाधि प्रदान गरे। उनले विश्वविद्यालयको दीक्षान्त समारोहमा आफू तेस्रो पटक सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीहरूको व्यावसायिक जीवनका लागि उज्ज्वल भविष्यको कामना गरेका थिए। 

“विश्वविद्यालयको हित र उन्नतिका लागि सरकारबाट सधैँ साथ सहयोग रहनेछ, आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि थप प्रेरणा प्राप्त होस्‚” प्रधानमन्त्री दाहालले भने।

उनले आजै एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि नवनिर्मित भवन पनि उद्घाटन गरे। 

समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाबाट दीक्षान्त अभिभाषण भएको थियो।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति डा शैलेशमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको बताए। 

‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उल्लेख उनले गरे।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विसं २०५२ मा विश्वविद्यालय स्थापना भएको हो। विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञानलगायत विषयको अध्यापन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.