|

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा २२ औं विश्व आदिवासी जनजाति दिवसको कार्यक्रम थियो। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमका प्रमुख अतिथि थिए। जनजाति सांसदहित नेताहरुको समेत उपस्थिति रहेको कार्यक्रममा दर्जनौं वक्ता थिए। 

प्रधानमन्त्रीको समय थोरै छ भन्दै कार्यक्रम सञ्चालकले ३ मिनेटका दरले वक्तालाई बोल्ने समय दिए। तर पनि प्रधानमन्त्री प्रचण्डले पटक–पटक घडी हेर्दै नजिकै रहेका कार्यक्रमका अध्यक्ष नगेन्द्रकुमार कुमालसँग हतार भएको संकेत गरेपछि प्रधानमन्त्रीलाई बोल्ने मौका दिइयो।  

कार्यक्रममा आफ्ना कुरा राखेसँग प्रधानमन्त्री कार्यक्रमबाट हलबाट बाहिरिए। हलको दर्शकदीर्घामा रहेको दुई महिला प्रधानमन्त्रीलाई भेट्न पछि लागे। तर ढोकामा सुरक्षाकर्मीले दुवैलाई रोके। सुरक्षाकर्मीले जान नदिएपछि एक महिला फर्केर पहिलेकै ठाउँमा बसिन्।

तर ८२ वर्षीया एक वृद्धाले भने प्रधानमन्त्री प्रचण्डलाई पछ्याउन छाडिनन्। सुरक्षाकर्मीले उनलाई अघि बढ्नै नदिएपछि रोइन् उनी। ‘प्रधानमन्त्रीलाई एक मिनेट भेट्न चाहन्छु, मलाई छाड्नुस्, मैले किन भेट्न नपाउने?’ प्रश्न गर्दै रोएपछि दुईमध्ये एक सुरक्षाकर्मीले छाडे। महिला सुरक्षाकर्मीले भने उनलाई छाडिनन्। उनलाई छाडेका अर्का सुरक्षाकर्मीले प्रधानमन्त्रीसँग दौडेर गएर खबर पुर्‍याए। खबर पाएपछि प्रधानमन्त्री ती वृद्धाको प्रतिक्षामा बसे।

उदयपुर घर भएकी ती वृद्धा काठमाडौमै बस्छिन्। उनको नाम हो, लक्ष्मीमाया आचार्य। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारेछन्, उनका छोरा लिलाराज आचार्य। वेपत्ता छोराको खोजीमा झण्डै डेढ दशक बिताएकी उनले प्रधानमन्त्रीसँग पीडा पोख्न चाहेकी थिइन्।

प्रज्ञा भवनबाट बाहिरिन गाडी चढ्नै लागेका प्रधानमन्त्री प्रचण्ड ती वृद्धालाई देखेपछि नजिकै आए। प्रधानमन्त्रीलाई देख्नेबित्तिकै लक्ष्मीमायाले सोधिन्, ‘मेरो छोरा कहाँ छ? मेरो छोरा बेपत्ता बनाउनेलाई यो पटक कारबाही हुन्छ कि हुँदैन?’ सँगै उनले सोधिन्, ‘मैले एक मिनेट पनि तपाईलाई भेट्न नपाउने कारण के हो?’

ती वृद्धाले त्यति भनेलगत्तै प्रधानमन्त्री प्रचण्डले हात समाउँदै भने, ‘तपाईलाई मैले नभेट्ने भनेकै छैन, तपाईको पीडा मैले बुझेको छु, पछि भेटेर कुरा गरौँला।’ लगत्तै लक्ष्मीमायाले प्रश्न गरिन्, कहिले भेट्ने, जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई तीन दिनमा म बोलाउँछु।’ यति भनेपछि प्रधानमन्त्री फर्किए। 

लक्ष्मीमायाकी छोरा लिलाराज २०६० सालमा बेपत्ता भएका हुन्। काठमाडौस्थित भैरवनाथ गणबाट उनीसहित ४९ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा र कृष्ण केसी मात्रै सम्पर्कमा छन्। प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै लक्ष्मीमायाले प्रचण्डलाई भेट्ने प्रयास गरेका थिए। केही दिनअघि लाजिम्पाटमै पुगेर उनले प्रचण्डलाई फूलमाया लगाएर बधाई दिइन्,पनि। तर त्यतिबेला प्रधानमन्त्रीको व्यस्तताले उनले कुरा गर्ने मौका पाइनन्।

लक्ष्मीमाया कसरी आइपुगिन् प्रज्ञा भवनमा?

प्रधानमन्त्री प्रचण्डलाई भेट्न समय मिलाउन बारम्बार आग्रह गरेपछि उनका जेठा छोरा वेदराज आचार्यले सचिवालयमा सम्पर्क गरे। प्रधानमन्त्री प्रमुख स्वकीय सचिव जोखबहादुर महरासँग उनको टेलिफोनमा कुराकानी पनि भयो। महराले उनलाई समय मिलाएर बोलाउने वचन दिएका थिए।

‘आमाले दिनहुँ भेट्ने मात्रै कुरा गरेपछि मैले उहाँलाई एक मिनेट भए पनि भेटाउन मात्रै चाहे, र यही कार्यक्रममा भेट्ने दृढताका साथ हामी आयौं।’ थाहाखबरसँग उनले भने। कार्यक्रम थियो भनेर कसरी थाहा पाउनुभयो? थाहाखबरको प्रश्नमा उनले भने, ‘मेरो छोरा सुजनले फेसबुक चलाउँछन्, त्यहाँबाट थाहा पाएर आएका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.