|

जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले मजदुरको समस्या समाधानका लागि नेपाली कांग्रेस गम्भीर रहेकाले श्रमिकका लागि सामाजिक सुरक्षा सम्बन्धी ऐन ल्याएको बताएका छन्।

बुधबार जनकपुरधाममा १३५ औं मजदुर दिवसको अवसरमा नेपाल ट्रेड यूनियन काँग्रेस धनुषाले आयोजना गरेको प्रभातफेरी तथा मजदुर सभालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धन सरकारले नेपाली जनता तथा देशको पक्षमा काम गर्न नसकेको बताए।

वर्तमान गृहमन्त्रीमाथि सहकारी ठगीसम्बन्धी आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग जारी रहेको बताए।

नेपाली काँग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले विराटनगर जुट मिल्सबाट मजदुर आन्दोलनको शुरुवात गरेर नेपालमा मजदुरको पक्षमा काम गरेको बताउँदै सुशील कोइराला प्रधानमन्त्री भएका वेला मजदुरहरूको सामाजिक सुरक्षासम्बन्धी कानुन ल्याएको नेता निधिले बताए।

नेता निधिले सरकारले अध्यादेशमार्फत बजेट ल्याउने चर्चा चलेको बताउँदै प्रतिनिधिसभा सञ्चालन गर्न प्रमुख प्रतिपक्षीको माग सम्बोधन गर्न नसक्नु सरकारको कमजोरी रहेको समेत बताए।

प्रतिनिधिसभाका सदस्य एवं पूर्व कृषिमन्त्री रामकृष्ण यादवले मुलुकमा भएको राजनीतिक स्थिरता तथा सत्ता गठबन्धनको पटक पटकको हेरफेरका कारणले मुलुकमा रोजगारीको सृजना हुन नसकेको बताउँदै मजदुरको पक्षमा कतिपय आवश्यक कानुन निर्माण नभएको गुनासो गरे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले मजदुरले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको बताउँदै अहिले पनि विदेशमा नेपाली श्रमिकले स्वच्छ तथा पर्याप्त खाने पानी नपाएका कारणले मृगौला सम्बन्धी समस्याबाट बढी मात्रामा पीडित हुनु परेको दुखेसो पोखे।

नेपाल ट्रेड यूनियन काँग्रेस धनुषाका जिल्ला अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य रामसरोज यादव, काँग्रेस धनुषा सभापति योगेन्द्र पञ्जियार, ट्रेड युनियन काँग्रेसका प्रदेश अध्यक्ष विजय यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह लगायतले बोलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.