|

काठमाडौं :  चार हजार रुपैयाँको लोभमा नचिनेका मानिसहरुको सामान बोक्दा तीन युवक प्रहरीको फन्दामा परेका छन्।

चितवनबाट आउँदै गरेका धादिङका उत्तम तामाङ, मकवानपुरका दिलबहादुर लामा र चितवनका विशाल पुन नचिनेको मानिसको सामान काठमाडौं ल्याउँदा पक्राउ परेका हुन्।  

उनीहरुलाई धादिङको आदमघाटबाट अपरिचित मानिसहरुले 'हाम्रो मान्छे सुत्केरी भएकी छ, यो घ्यू पुर्‍याइदिनुपर्‍यो, पुर्‍याइदिनुभयो भने धर्म हुन्छ, बरु चार हजार रुपैयाँ दिन्छौं' भने। उनीहरुले चार हजार रुपैयाँ लिएर घ्यू पुर्‍याइदिन राजी भए।  

जब काठमाडौं आए, घ्यू लिनका लागि फोन गरे, पटक पटक गर्दा पनि लिने मान्छे नआएपछि अलमलमा परिरहेका बेला त्यहाँ प्रहरी पुग्यो। प्रहरीले घ्यूउको डब्बाभित्र चरेश ल्याइदैछ भन्ने सुराक पाइसकेको थियो। त्यही आधारमा तीन जनालाई पक्राउ गरेर चेकजाँच गर्‍यो। उनीहरुबाट  दुई वटा डब्बामा रहेको चार किलो चरेश बरामद गर्‍यो। 

पक्राउ परेकाहरु कोही विरामी भेट्न त कोही प्रशासनिक कामको लागि आएको, तर प्रलोभनमा परी लागूऔषधको कारोवारमा संलग्न भएकोले पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त, सोह्रखुट्टेका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

‘पिँध र माथिपट्टि घ्यू र बीचमा चरेश लुकाएर राखेको अवस्थामा बरामद गरेका हौं’ उनले भने, ‘उनीहरुलाई घ्यू दिने व्यक्ति र काठमाडौं लिन आउने व्यक्तिको खोजी गरिरहेका छौं।’ पहिला कुरियरको माध्यमबाट आउने चरेश अहिले यसरी सोझासाझालाई प्रलोभनमा पारेर काठमाडौं भित्रिने गरेको पनि उनले बताए । पक्राउ परेकाहरुलाई मुद्दा चलाई सकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.