|

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न राँगा र भैँसी पाल्ने कृषकहरूलाई अनुदान दिने भएको छ।

पशुपालनले समग्र कृषि क्षेत्रलाई नै चलायमान बनाउने भएकोले राँगा पालेका प्रत्येक कृषकहरूका लागि २० हजार रुपैयाँ अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए। व्यावसायिक रूपमा राँगो पाल्दै आएका कृषकको सम्मान गर्न र अरूलाई प्रेरित गर्न आर्थिक सहयोग गर्न गाउँपालिकाको १३ औँ सभाले सर्वसम्मत निर्णय गरेको थियो।

सात वटा वडाहरू रहेको पैयुँका प्रत्येक वडामा तीन–चार वटासम्म राँगा पालिएका छन्। गाउँपालिकाले यस पटक २० वटा राँगाका लागि मात्रै अनुदान दिन लागेको र यसका लागि करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान छ।

भैँसीपालक कृषकले फोन गरेको बेलामा रातीको समयमा समेत बोलाइएकै समयमा पुग्नुपर्ने र जस्तो मौसम र जस्तो बाटो भए पनि पुग्नुपर्ने भएकाले पनि राँगो पालन दुःखको पेसा भएको कृषक ताराप्रसाद भुर्तेलले बताए। राँगाको शारीरिक र मानसिक विकास राम्रो भएमा मात्रै राम्रो बानी व्यवहार भएका पाडा पाडी जन्मिने भएकाले राँगोलाई उचित वातावरणमा पालेर व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। पोषणदेखि कृषकको गोठसम्म लैजाँदाको जोखिमका कारण पनि राँगो पालन कठिन हुने र गाउँपालिकाले दिन लागेको अनुदानले प्रोत्साहन मिलेको अर्का कृषक मेकबहादुर क्षेत्रीले बताउँछन्।

पैयुँ गाउँपालिकामा कृषकले एउटा भैँसीलाई राँगो लगाएको एक हजार ५०० रुपैयाँ खर्च तिर्दै आएका छन्। अब राँगापालकको गोठदेखि भैँसी पालकको गोठसम्मको दूरीको आधारमा मूल्य निर्धारणको लागि काम थाल्ने गाउँपालिकाले बताएको छ।

गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार भैँसी पालन गरेका गाउँपालिकाका १६ जना कृषकहरूलाई पनि प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान दिन लागेको छ। गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार ‘भैँसी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार कार्यक्रम लागू हुने वडा नं. ६ का कृषकबाट प्रस्ताव आह्वान गरिएको छ।

कुल १६ वटा भैँसीका लागि कार्यालयले आठ लाख रुपैयाँ लगानी गर्ने छ भने कृषकले पनि आठ लाख रुपैयाँ बेहोर्नुपर्ने छ। गाउँपालिका र कृषकको ५०/५० प्रतिशत अनुदानमा सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत कृषकले अधिकतम एक लाख रुपैयाँसम्मको भैँसी खरिद गरेकोमा प्रति भैँसीको मूल्यमा ५० प्रतिशत अनुदान दिइने छ।

तर गाउँपालिकाले तोकेको अधिकतम मूल्य भन्दा कम रकममा खरिद गरेमा खरिद गरेको रकमको ५० प्रतिशत उपलब्ध गराइने र अधिकतम मूल्य भन्दा बढीको भैँसी खरिद गरेको अवस्थामा तोकिएको अधिकतम मूल्यलाई आधार मानेर अधिकतम रकमको ५० प्रतिशत रकम अनुदान दिइने छ। तर भैँसी खरिद गर्दा भने नियमानुसार दर्ता भएका व्यावसायिक फर्मबाट गरिएको हुनुपर्ने सर्त राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.