काठमाडौं : आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया। जौको सातु र सर्वत खाएर मनाइँदैछ। गर्मी बढ्ने समयमा शितलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ।
महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा पनि अक्षय तृतीयालाई लिने गरिन्छ। अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ। यस तिथिमा गरेका कर्महरुको फल नाश नभइ दिगो रुपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ। यो युग आरम्भ हुने तिथि पनि हो। महाभारतको लडार्इंसँगै द्वापर युग सकिएको दिनका रुपमा पनि यस दिनको सम्झना गरिन्छ। सत्य र त्रेता युगको आदि दिवस अर्थात प्रारम्भ दिवसको रुपमा पनि यस दिनलाई लिने गरिन्छ। भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन लिएको शास्त्रमा वर्णन गरेको पाइन्छ।
भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गंगा धरतीमा आएको दिनका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ। वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको शुरुवात भएको मानिन्छ। यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि आजको दिनलाई मनाउने प्रचलन छ। आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ।
ज्योतिष शास्त्रकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चांग नहेरी पनि कुनैपनि शुभकार्य गर्न सकिन्छ। आज पशुपतिनाथसहित भक्तपुरको डोलेश्वर महादेव मन्दिर लगायतका विभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ।
यस पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दु विश्वासले आज हिन्दु मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन्। यस पर्वमा सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।