|

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन्। सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐनमा रहेको व्यवस्थाअनुसार उनले बुझाएको सम्पत्ति विवरणको फाराम गत वैशाख १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको छ।

दर्ता नं १७६३ रहेको उनको विवरणमा पोखरा महानगरपालिका–१२ मा करिब ६ आना क्षेत्रफलमा घर रहेको,  हाल करिब २ करोड रुपैयाँ मूल्य पर्ने उक्त घर पैतृक सम्पत्तिको रुपैयाँ रहेको उल्लेख छ। पोखरा महानगरपालिका–३१ मा ८ वटा कित्तामा पैतृक सम्पत्तिको रूपमा जग्गा रहेको विवरणमा लेखिएको छ।

मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट १५ लाख नगद र २ तोला सुन रहेको लेखेका छन्। यस्तै, विभिन्न सहकारी तथा बैङ्कहरूमा १० लाख रुपैयाँ मौज्दात रहेको, गण्डकी विकास बैङ्कमा कृषि आम्दानीबाट प्राप्त भएको रकमबाट २४९७ कित्ता शेयर रहेको उल्लेख छ।

सुनिल पाण्डे लगायतबाट ३५ लाख ऋण लिएकोमा १० लाख रुपैयाँ अघिल्लो वर्षमा तिरेको, स्कर्पियो गाडी बिक्री गरेर ऋण तिरेको, ४४ लाख रुपैयाँ प्रभु बैङ्कबाट लिएको र ८० लाखमा घटाइएको पनि मुख्यमन्त्री अधिकारीको सम्पत्ति विवरणमा उल्लेख छ। 

यस्तै, अग्रगामी कृषि फार्ममा साढे १६ लाख रुपैयाँ श्रीमती रमा पाण्डेको नाममा रहेको उल्लेख छ। श्रीमती पाण्डे शिक्षक भएकोले त्यसबारेको विवरण उनकै सम्पत्ति विवरणमा समावेश गरिएको पनि मुख्यमन्त्री अधिकारीले लेखेका छन्।

चितवनमा निर्माणाधीन अवस्थामा रहेको फ्रेस वेभ रिपोर्टमा पनि श्रीमती पाण्डेकै नाममा २० लाख बराबरको शेयर लगानी रहेको पनि विवरणमा उल्लेख छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको वेब साइटमा मंगलबार दिउँसोसम्म ‘माननीय मुख्यमन्त्री तथा मन्त्रीज्यूहरूको सम्पत्ति विवरण’ शीर्षकमा मुख्यमन्त्रीको सम्पत्ति विवरण डाउनलोड गर्न सकिने गरी राखिएको भए पनि बुधवार भने उक्त पेज खुलेको छैन। मङ्गलवारसम्मको अपडेटमा मुख्यमन्त्री अधिकारीले मात्रै सम्पत्ति विवरण बुझाएको भनी विवरण राखिएको थियो।

पद बहाल भएको ६० दिनभित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। नेकपा (एमाले) गण्डकी प्रदेशको संसदीय दलका नेता रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.