|

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार दोस्रो हप्ता प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले उत्तरपुस्तिका परीक्षण भइरहेको र छिटै नै प्रकाशित गर्ने लक्ष्य राखिएको जानकारी दिए। उनले भने, ‘आगामी दोस्रो हप्तातिर एसइई परीक्षाको नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ, हेरौँ के कति सम्भव हुन्छ।’

२०८० सालको एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरेका थिए।

तर देशभरिबाट ४ लाख ६७ हजार जनाले मात्रै एसइई परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका छन्। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहे।

परीक्षाका लागि देशभरि २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकियो। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

एसइईमा ‘नन ग्रेडेड’ 

सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका जारी गरेको झण्डै ३ वर्षपछि बल्ल एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदै छ। बोर्डले ०८० सालको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जानकारी दिइसकेको छ।

परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो। नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू भएकोमा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिने भनिएको थियो।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकामा गरिएको थियो।

तर यो लागू भने भएन। अघिल्लो वर्षमा पनि यसबारे अन्योल थियो। बोर्डले अन्तिममा एसइईको नतिजा सार्वजनिक गर्ने वेला कोभिडको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको जनाएको थियो। 

तर यो वर्षको एसइईमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने र कम ल्याएमा नन ग्रेडेड हुने राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालले जानकारी दिए।

उनका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्नेछ। ३५ प्रतिशत भनेको १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक ल्याउनुपर्नेछ। नल्याए फेल हुने बोर्डले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.