|

काठमाडौँ : विश्व स्वास्थ्य संस्था (डब्लूएचओ)को ७७ औं महासभामा भाग लिन स्वास्थ्यमन्त्री प्रदीप यादव आगामी शनिबार स्वीजरल्याण्डको जेनेभा जान लागेका छन्। स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणमा मन्त्री यादवसँगै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा. चुमन लाल र मन्त्रीका निजी सल्लाहकार अवधेशकुमार दासको टोलीलाई लिएर मन्त्री यादव जेनेभा उड्न लागेका हुन्।

मन्त्री यादव र महानिर्देशक डा संगीता मिश्रा सरकारको खर्चमा जाँदै छन्। चुमनलाल दास र अवधेशकुमार दास भने आइएनजिओकाे रकममा जाने भएका हुन्। चुमनलाई एनएसआइले लगानी गरेकाे छ भने ‘अवैतनिक’ सल्लाहकार दासको युएनएफपिएले लगानी गरेको छ। जेठ १४ देखि १९ सम्म ( २७ मे देखि जुन १) सम्म जेनेभामा डब्लूएचओको महासभा हुँदै छ।

यसअघि मन्त्रालयले जेनेभा जाने टिममा प्रशासनतर्फका सचिव मधुसूदन बुर्लाकोटी र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली जेनेभा जाने बताइए पनि अन्तिम समयमा आएर सचिव बुर्लाकोटी र अतिरिक्त सचिव सिंह भ्रमणमा सहभागी हुने नामावलीबाट हटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपालबाट डब्लूएचओ  महासभामा जाने स्वास्थ्यमन्त्रीको बाहेकलाई प्रत्येक वर्ष दातृनिकाय वा युएन एजेन्सीले नेपाल सरकारको अनुदानमा लैजाने गरेका छन्।

डब्लूएचओ महासभालाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो विश्व सम्मेलन मानिन्छ। जसले गर्दा हरेक वर्ष मन्त्रालयका नीतिगत तहमा काम गरेका विज्ञहरू जाने र आफ्नो देशमा स्वास्थ्य क्षेत्रमा भइरहेका राम्रा काम र चुनौतीका बारेमा छलफल गरिन्छ। तर योपटक पनि मन्त्री यादवले विज्ञ टोलीभन्दा आफ्नै मान्छेलाई भ्रमणमा सहभागी गराएका छन्।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘डब्लूएचओ महासभामा खास विज्ञ टोली जानुपर्ने हो तर योपटक विज्ञ कम सहभागी हुने देखियो। अझै भर्खरै मन्त्रालयको जिम्मेवारी समाल्नु भएका मन्त्रीले आफ्नै निजी सल्लाहकार लिएर जाने निर्णय गर्नुभयो। यसले गर्दा योपटक पनि महासभामा हाम्रा तर्फबाट त्यति प्रभावकारी सभागिता हुने देखिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.