|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कलंकी-महाराजगञ्ज सडक निर्माण नगरिएको भन्दै आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई एक ट्रक धुलो पठाएका छन्।

उनले आज बबरमहलस्थित सडक विभाग अगाडि एक ट्रक धुलो खन्याउन लगाए। बालेनले त्यहाँको सडक निर्माणको काम नथालेसम्म दैनिकरुपमा मन्त्रीको नजिक या पायक पर्ने ठाउँमा यसरी नै धुलो पठाइरहने र यो धुलो उपहार सम्झिन अनुरोध गरेका छन्। 

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै भनेका छन्, 'तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ। काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, अबेला पुग्नु परेको छ र काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नुहोला।'

उनले धुलो खन्याएको भिडियोसहित स्टेटसमार्फत उक्त जानकारी गराएका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.