|

काठमाडौँ : सरकारले आइतबारदेखि देशभर पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दुई हप्ता चल्ने अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ दिइनेछ।

विसं २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ बालबालिकालाई यो खोप दिइँदै छ।

अधिकांश अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित रूपमा पोलियो खोप लगाएको अवस्थामा पुनः लगाउने कि नलगाउने भन्ने अन्योल देखिएको छ।

छुटेका बालबालिकालाई आईपीभी खोप अभियान

नेपालमा २०७३ सालको शुरुवातदेखि २०७५ सालको पहिलो ६ महिनासम्म आईपीभी खोप अभाव भएको थियो। विश्वमै त्यतिखेर यो खोप अभाव भएको थियो।त्यो वेला यो खोप लगाउन छुटेका लक्षित उमेरका बालबालिकालाई पोलियो रोग लाग्ने जोखिम हुने भएकाले आईपीभी खोप दिने गरी यो अभियान सञ्चालन गर्नु परेको हो।

पोलियो रोगबाट पूर्णरूपमा सुरक्षित हुन आईपीभी

पोलियो रोगबाट पूर्ण सुरक्षित हुन आईपीभी खोप पनि लगाउनुपर्छ। पोलियो रोगविरुद्ध दिइने दुई प्रकारका खोपले एक अर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमता बढाउन परिपूरकको काम गर्छन्। यसैले यो रोगबाट पूर्ण सुरक्षित हुन ती दुबै खोप लगाउनुपर्छ। ओपीभी खोपको सट्टामा आईपीभी खोप प्रयोग गरिएको होइन।

नियमित खोप सेवाबाट आईपीभी लगाएकाले लगाउन पर्दैन

विगतमा नियमित खोप सेवाबाट आईपीभी खोप लगाएका बालबालिकाले यो अभियानमा यो खोप लगाउनु पर्दैन। ओपीभी खोप नियमित खोपको माध्यमबाट तीनपटक लगाउनुपर्।

जसमा पहिलोपटक ६ हप्ताको उमेरमा, दोस्रोपटक १० हप्ताको उमेरमा र तेस्रो पटक १४ हप्ताको उमेरमा लगाउनुपर्छ। आईपीभी खोप नियमित खोपको माध्यमबाट दुईपटक लगाउनुपर्छ जसमा पहिलो पटक १४ हप्ताको उमेरमा र दोस्रो पटक ९ महिनाको उमेरमा लगाउनुपर्छ।

पोलियो कस्तो किसिमको रोग हो ?

यो रोग पोलियो भाइरसको संक्रमणबाट हुन्छ। पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ पनि भनिन्छ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन। यसको कुनै निश्चित औषधि उपचार नै छैन। यो रोगबाट मृत्यु पनि हुनसक्छ।

खोप मात्रै पोलियो रोगबाट बच्ने एक उपाय

पोलियो रोगविरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय हो। यो रोगविरुद्धका खोप दुई प्रकारका छन्। एउटा खुवाइन्छ र  अर्को सुईबाट दिइन्छ। खुवाउनेलाई ओपीभी र सुई लगाउनेलाई आईपीभी भनिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.