|
फाइल तस्वीर

काठमाडौँ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको आरोप लगाएका छन्।

आइतवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौँ महानगरले गरिरहेको तोडफोड र भत्काउने क्रियाकलाप कानुनसम्मत नभएको आरोप लगाएका हुन्। 

उनले काठमाडौँ महानगरपालिकाको मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि दावी गरे। उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताए। 

शनिवार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट बेहोर्नुपरेको स्टाटस लेखेका थिए।

उनले रिङरोडको काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालयअगाडि फोहोर राखिदिएको भिडियो हालेका थिए।

यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए। उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउन बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए।

‘उहाँले सल्लाह दिइरहनुभएको छ। बोल्नुभन्दा पनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन। चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो‚’ उनले भने‚ ‘उहाँले स्टटसमा लेखेको कुरामा सत्यता छैन‚ अहिले काठमाडौँ महानगरले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दैछौँ । न्युरोडमा अहिले जुन तोडफोड भइरहेको छ र सडक विभागले यसलाई रोकेको छ। न्युरोडमा कामपाको जुन क्रियाकलाप छ, त्यो कानुनसम्मत छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.