|

काठमाडौ: मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरकारका दुई उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा दुई छिमेकी राष्ट्र भारत र चीन पठाउने निर्णय गरेको छ। नेपाल र छिमेकी दुई देशबीचको सम्बन्ध सुधारका लागि दुई उपप्रधानमन्त्रीलाई भारत र चीनको भ्रमणमा पठाउने निर्णय सरकारले गरेको हो।

नेपालले दुई छिमेक राष्ट्रमा एकैपटक विशेष दूतका रुपमा उपप्रधानमन्त्रीहरु पठाउन लागेको यो पहिलो पटक हो। 

मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबै देशमा आफ्नो विशेष दूतका रुपमा उपप्रधानमन्त्रीलाई पठाउन लागेका हुन्।

प्रचण्ड नेतृत्वको सरकार र दुई देशबीचको सम्बन्ध सुधार गर्न दुई देशमा उपप्रधानमन्त्री पठाउने निर्णय गरेको कृषिमन्त्री गौरीशंकर चौधरीले जानकारी दिए। ‘नयाँ सरकार र दुई देशबीचको सम्बन्ध थप सुधार गर्न सरकारले प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्वयलाई पठाउने निर्णय गरेको हो’, मन्त्री चौधरीले थाहाखबरसँग भने, ‘जतिसक्दो चाँडो वातावरण मिलाएर उहाँहरु जानुहुनेछ।’

मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो। उपप्रधानमन्त्रीहरु निधि र महरा केही दिनमै भारत र चीन जाने स्रोतले बतायो।

सम्बन्ध सुधार

नयाँ सरकार र दुई देशको सम्बन्ध कसरी बिग्रियो? भन्ने प्रश्नमा मन्त्री चौधरीले भने, ‘सम्बन्ध बिग्रिएर सुधार्न लागेको होइन, दुबै देशलाई मिलाएर अघि बढाउन थप वातावरण बनाउन उपप्रधानमन्त्रीद्वयलाई त्यसतर्फ पठाउने निर्णय गरिएको हो।’

स्रोतका अनुसार आउँदो असोजमा नेपालले आवश्यक वातावरण निर्माण गरे नेपाल आउने तयारीमा रहेका चिनियाँ राष्ट्रपति सि जिङ पिङको भ्रमणबारे आवश्यक छलफल गर्न उपप्रधानमन्त्री महरा प्रधानमन्त्रीका विशेष दूतका रुपमा चीनतर्फ जान लागेका हुन्। भ्रमणमा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन र थप समझदारीका विषयमा समेत कुरा गर्ने स्रोतले जनाएको छ। 

अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भने भारतसँगको सम्बन्ध थप सुधार गर्न त्यसतर्फ जान लागेका हुन्। त्यसका साथै उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे आवश्यक परामर्श गर्ने छन्। 

मन्त्री चाैधरीले भ्रमणका क्रममा के–के विषयमा कुराकानी गर्ने भन्ने विषयमा टुंगो नलागेको बताए। ‘मन्त्रिपरिषद्ले सम्बन्ध सुधारका लागि मात्रै दुई देशमा प्रधानमन्त्रीका विशेष दूतका रुपमा दुई देशको भ्रमणमा पठाउने लागेको हो, भ्रमणको अरु एजेण्डा छैन, भ्रमणपूर्व छलफल गरी एजेन्डा तय हुन्छ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.