|
photo : namastehetauda.com

चितवन : जेठ महिनायताको निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसिरहँदा सडक विस्तार प्रभावित भएको छ। पहिरो खस्दा सडक विस्तारमा खट्ने मजदुर सडक खुलाउन लाग्नुपरेपछि लक्ष्य अनुसारको काम हुन नसकेको हो। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सक्नुपर्नेमा २३. ५ प्रतिशतमात्रै काम भएको छ। जेठ मसान्तसम्ममा २१.४ प्रतिशत काम भएकामा गत दुई महिनामा २.१ प्रतिशतमात्रै काम भएको उनले बताए।

जेठ र असारमा निरन्तर पहिरो खसे पनि साउन महिनामा भने ठूला पहिरा दुईपटक मात्रै खसेका थिए। यद्यपी सानातिना पहिरो खसिरहने, खाल्टाखुल्टी बढी भएकाले ठेकेदारले राखेका मजदुर कर्मचारीले विस्तारको कामभन्दा बढी ती काममा व्यस्त हुनुपर्दा लक्ष्यअनुरुप काम हुन नसकेको हो। 

वर्षातका कारण कमजोर ठाउँमा भित्ता काट्न मिलेको छैन। अहिले दासढुङ्गाको मोडमा र जलवीरेमा मात्रै भित्ता कटानको काम भइरहेको खनालले बताए। वर्षातले काम गर्न कठिन हुने हुँदा ठेकेदार कम्पनीहरुले मजदुर कर्मचारीसमेत न्यून मात्रामा राखेका छन्।

वर्षातपछि लगत्तै चाडबाड आउने हुँदा छठ पर्वसम्म लक्ष्यअनुरुप काम गर्न नसकिने खनालले बताए। त्यतिबेला एकातर्फ बाटो रोकेर काम गर्न मिल्दैन भने अर्को तर्फ मजदुर कर्मचारी बिदामा बस्ने हुँदा लक्ष्यअनुरुप काम हुन नसक्ने उनको भनाई छ। निर्माणका काम मङ्सिरदेखि वैशाखसम्म तीव्र गतिमा हुने गर्छ।  

ठेक्का दिँदा विसं २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.