|
फोटो : www.rajdhani.com.np

काठमाडाैं : बिभिन्न १० माओवादी घटक मिलेर नेकपा माओवादी केन्द्र गठन भएको दुई महिना नपुग्दै पार्टीभित्र तीब्र असन्तुष्टी बढेको छ। एकीकृत नेकपा माओवादीबाट आएकाहरुले पार्टीमा एकाधिकार जमाउन खोजेको भन्दै एकतामा आएकाहरुले छु्ट्टै भेला गरेका छन्। 

विचारमा एकताको भावलाई समेटिए पनि व्यवहारमा त्यस्तो नदेखिएको भनी नेकपा क्रान्तिकारी माओवादीबाट नेतृत्व गरी एकतामा आएका रामबहादुर थापा बादल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा, नेकपा माओवादीका मातृका यादव, नेकपा माओवादी विद्रोही समूहका तिलक परियार निकट नेताहरुले उक्त भेला गरेका हुन्। 

गएको जेठ ६ गते माओवादीहरुको एकताको घोषणा गरिएको थियो। तर एकताको २ महिना नपुग्दै एमाओवादी बाहेक अरु समूहबाट आएकाहरुले हेपिएको महसुस गर्न थालेका छन्। प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीका नेताहरुले एकतामा आएका समूहलाई सौतेनी व्यवहार गरेको निष्कर्ष समेत निकालेको छ। एमाओवादीका नेता कार्यकर्ता उदार नभई निरंकुश भएको भन्दै उनीहरुले एमाओवादीले भावना र व्यवहारमा एकता नचाहेको दावी गरेका छन्।  

पार्टीका जनवर्गीय संगठन निर्माणमा समेत एमाओवादीले एकाधिकार जमाएको उनीहरुको आरोप छ। जिल्ला तहदेखि केन्द्रीय स्तरमा भएको एकता प्रक्रियाका क्रममा एकताबाट आएकाहरुलाई कुनै पनि पद तथा स्थानमा समावेश नगरेको नेकपा माओवादीबाट आएका एक नेताले बताए।  'पार्टीको जनवर्गीय संगठन निर्माणदेखि हरेक तहमा एमाओवादीबाट आएकाहरुले एकाधिकार जमाउन खोजे यस विषयमा नेतृत्वले सोच्नुपर्छ' उनले भने 

झण्डै डेढ साताअघि सरकारको नेतृत्व लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने राजनीतिक नियुक्तिका क्रममा समेत पुरानै एमाओवादीको काखी च्यापेको उनीहरुको आरोप छ।

स्रोतका अनुसार उक्त गोप्य भेला बादल, मणि, मातृका र परियारकै निर्देशनमा भएको हो। भेलामा उनीहरुले भने सहभागी जनाएनन्। नेतृत्वमार्फत प्रचण्डलाई पुरानो एमाओवादीले गरेको गल्तीलाई आत्मलोचनासहित सुधार गर्न आग्रह गर्ने नेता रामबहादुर थापा बादल निकट एक नेताले थाहाखबरलाई बताए।  

गोप्य राखिएको भेलाबारे प्रमुख नेताहरुले भने केही बताउन चाहेनन्। नेकपा माओवादी विद्रोही समूहबाट एकतामा आएका माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारले आफूहरुले गोप्य भेला नगरेको दावी गरे। स्रोतले भने परियार निकटका ३ जना नेता उक्त भेलामा सहभागी भएको किटान गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.