|

काठमाडाैँ : नेकपा माओवादी केन्द्रले आइतबार चयन गरेको ५ मन्त्रीमध्ये शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भनिएको धनीराम (डिआर) पौडेलले अन्तत : बिना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिए छन्। 

स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कांग्रेसले अडान नछाडेपछि पौडेलले बिना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्। कांग्रेसले शिक्षा मन्त्रालय आफ्नो पार्टीलाई चाहिने भन्दै माओवादीलाई स्वास्थ्य रोज्न भनेको थियो। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य मन्त्रालय आफ्नो पार्टीले लिन तयार भएपनि पार्टीका नेता नारायणकाजी श्रेष्ठ भने तयार भएनन्। पौडेल श्रेष्ठ समूहबाट सरकारमा सहभागी हुन लागेका हुन्। 

श्रेष्ठले शिक्षाबाहेक अन्य मन्त्रालयमा पौडेललाई नपठाउने अडान कायम राखेपछि पौडेलले बिना बिभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्। कांग्रेससँगको छलफलपछि पौडेललाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल हुने माओवादीका एक नेताले बताए। ती नेताका अनुसार पौडेल भने स्वास्थ्य मन्त्रालयमा जान तयार छन्। 

मन्त्रालय भागबण्डा गर्दा माओवादी नेता वर्षमान पुन र कांग्रेस नेता एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले माओवादीले शिक्षा र स्वास्थ्यमध्ये एक लिने समझदारी गरेको थियो। समझदारीपछि श्रेष्ठले अलिक जोड गरेर कांग्रेसलाई स्वास्थ्य मन्त्रालय दिने र माओवादीले शिक्षा लिने तयारी गरेको थियो। कांग्रेसले शिक्षामा अडान कायम राखेपछि श्रेष्ठको निर्देशनमा पौडेलले बिना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.