|

लहान : सप्तरीको सुरुङ्गा नगरपालिका- ५ मा सर्पले डसेर गएराति एक महिलाको मृत्यु भएको छ। सुरुङ्गा- ५ कुसाहाकी ५५ वर्षीया सुगवतीदेवी यादवको सर्पले डसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

पिसाब फेर्न बाहिर निस्किएकी यादवलाई आँगनमा पुग्न नपाउँदै विषालु सर्पले डसेको थियो। प्रहरीका अनुसार यादवलाई तत्काल लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा मृत्यु भयो।

बाढीग्रस्त क्षेत्रमा सर्पको बिगबिगी

साउनको अन्तिम हप्ता आएको बाढीपछि सप्तरीका बाढीग्रस्त क्षेत्रमा सर्पको बिगबिगी छ। सप्तरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सकरपुराकी सुमित्रा माली, वैजु राय, सुदनी देवी मण्डललाई सर्पले डसेपछि चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। राजविराजमा सामान्य उपचारपछि मण्डललाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ भने बाँकीको राजविराजमै उपचार भइरहेको छ।

पछिल्लो ४ दिनको अवधिमा तिलाठी–कोइलाडी गाउँपालिका- ३ अन्तर्गत पर्ने सकरपुरा गाउँका सात जनालाई सर्पले डसिसकेको छ। स्थानीय खाँडो खोलामा आएको बाढी गाउँ पसेपछि अहिले सकरपुरामा सर्पको बिगबिगी बढेको गाउँलेहरु बताउँछन्। बाढीले घर, अन्नपात, धानखेत बगाएपछि बिहान बेलुका चुलो बाल्न पनि कष्ट झेलिरहेका बेला सर्पदंशका बिरामीलाई  बोकेर अस्पताल दौडनु पर्ने भएपछि गाउँलेहरु थप सकसमा परेका छन्।

गाउँ पसेको बाढीको लेदो पानी सुक्न नपाउँदै सर्पको बिगबिगी बढेपछि थप समस्यामा परेको स्थानीय गाउँलेहरुको भनाइ रहेको छ। लगातारको वर्षा र बाढीपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जिल्लाभरबाट दैनिक १२ देखि १५ जनासम्म सर्पदंशका बिरामी भर्ना हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. दयाशंकरलाल कर्णले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.