|

काठमाडौं : सोमबार दिउँसो करिब १ बजे काभ्रेको कोशीपारी स्थित मादनकुडाँरी जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको फरक फरक संख्या सञ्चार माध्यमहरुमा आए। दुर्घटनाको केही समयमा नै काठमाडौंको अनलाइन सञ्चार माध्यमहरुले यसबारे समाचार दिन थालिसकेका थिए। त्यसमा मृतकको संख्या कसैले ३१, ३३, ३४ सम्म पुगेको थियो। 

बुधबार बिहान प्रकाशित पत्रपत्रिकामा पनि मृतकको संख्या फरक फरक उल्लेख थिए। धेरैले २७ जनाको मृत्यु लेखेका थिए भने कुनैमा २५ त कुनैमा ३३ जनासम्म लेखिएको थियो। 

तर जिल्ला प्रहरी कार्यालय काभ्रेले मृत्यु हुनेको संख्या अहिलेसम्म २७ जना भएको प्रष्ट पारेको छ। २६ जनाको घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीनराज राईले जानकारी दिए। 

तर सुरुमा प्रहरी अधिकारीलाई नै उधृत गरेर ३३ जनासम्म मृत्यु भएको समाचार आएको थियो। हामीले डिएसपी राईलाई सोध्यौं मृतकको संख्या कसरी बढी आयो? राईले भने, ‘घटनास्थल पुग्नेवित्तिकै हामीले अनुमानित तथ्यांक जानकारी गराएका हौं।’ उनका अनुसार दुर्घटनाका घाइतेसँगको कुराकानीपछि भने २० देखि २५ जनासम्मको मृत्यु हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको थियो। डिएसपी राईले गम्भीर घाइतेहरुको अवस्था हेरी मृतकको सुचीमा राख्दा संख्या बढेको पनि बताए। 

डिएसपी राईले शुरुमा मृतकको संख्या आंकलन मात्रै भएकाले संख्या फरक पर्न गएको बताए। ‘शवहरु गन्दै जाँदा २६ जनाको मृत्यु भएको पुष्टि भयो, एकजनाको अस्पतालमा मृत्यु  भएको छ’ उनले भने।

प्रहरीका अनुसार मृत्यु हुनेमा कात्तिके देउराली-७ का ४५ वर्षीय दीपक गौतम, ६५ वर्षीय गोविन्द गौतम, ६५ वर्षीय सुनिल बर्देवा, मादनकुँडारी-५ का ६५ वर्षीय नीलकण्ठ गौतम, वर्ष नखुलेका विनोद गौतम, मादनकुँडारी-१ का आठ वर्षीया एलिसा तामाङ, ठेगाना तथा वर्ष नखुलेका औलात सिंह, पञ्जा तामाङ, सानुमाया तामाङ छन्। 

त्यसैगरी, कात्तिके देउराली-३ का विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली-४ का उमेश बाँस्कोटा र वर्ष नखुलेका सीता बर्देवा, गोठपानी गाविसका २१ वर्षीय रेशम विक, मादनकुँडारी-५ का छविलाल चौलागाई र वर्ष खुल्न नसकेका सीता गिरी, कात्तिके देउराली-७ की कुनामाया परियार, सीता परियार, मादनकुँडारी-३ की माईली तामाङ, ठेगाना खुल्न नसकेका इन्द्रकुमारी लामा, लीलानाथ गौतम, कृष्ण दमै, ठुलीकान्छी सुनुवार, सुस्मा लामा, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ र रामेछाप लखनपुर-१ जुनकिरी गौतमको मृत्यु भएको छ। 

दुर्घटनाका घाइते रमेश गौतमको भने त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.