समस्याग्रस्त बैंकमा जम्मा भएको रकम उठाइछाड्छौं : सेना

|
फोटो सौजन्य : मुकुन्द कालिकोटे

काठमाडौं : नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रहेको करिब २२ करोड २३ लाख रुपैयाँ जोखिममा रहेको छ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गरिएको रकम जोखिममा रहेको हो।

तर त्यस्ता बैंकहरुको अचल सम्पत्ति रोक्का राखेकोले ती रकम पनि उठ्ने विश्वास कोषका निर्देशक सहायक रथी गौरव तण्डुलले जानकारी दिए। ‘हामीले त्यस्ता बैंक तथा वित्तिय संस्थाहरुको अचल सम्पत्ति रोक्का गरेका छौं’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘त्यसैले ती रकम पनि उठ्छ भन्ने विश्वासमा छौं।’

गत आर्थिक वर्षसम्म २८ करोड रुपैयाँ जोखिममा रहेकोमा अहिले २२ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।

सेनाको कल्याणकारी कोषमा अहिले ३३ अर्ब छ करोड रुपैयाँ रहेको पनि उनले जानकारी दिए। एक करोड २४ लाख एक हजार रुपैयाँबाट २०३२ सालमा शुरु भएको कोषमा गत वर्ष भन्दा दुई अर्ब ७१ करोड रुपैयाँले बृद्धि भएको हो। सेनाले क वर्गको वाणिज्य बैंकमा ३२ अर्ब ६९ करोड, ख वर्गको बैंकमा चार करोड नौ लाख र ग वर्गको फाइनान्स कम्पनीमा ३२ करोड ९९ लाख रुपैयाँ राखेको छ।  

सेनाले स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कामहरु सञ्चालन गर्दै आएको छ भने जलविद्युत आयोजनामा लगानीका लागि पहल भइरहेको पनि जानकारी दिए। सहायक रथी तण्डुलले भने ‘हामीले जलविद्युतको क्षेत्रमा पनि लगानीको लागि पहल गरिरहेका छौं, अध्ययन भइरहेको छ।’ 

ऐनमा भएका नीतिगत समस्याको कारण सेनाले सबै क्षेत्रमा लगानी गर्न सकेपनि प्रर्वद्धकको रुपमा काम गर्न नपाउने प्रावधान रहेको पनि उनले जानकारी दिए। 
सेनाको कल्याणकारी कोषले सात वटा महाविद्यालय, एउटा विद्यालय र एउटा छात्रावास सञ्चालन गरिरहेको छ। जसमा कल्याणकारी खर्चको ३१ प्रतिशत रकम ६२ करोड सात लाख रुपैयाँ खर्च गर्दै आइरहेको पनि जनाएको छ। 

वहालवाला र अवकाश प्राप्त सैनिक र उनका परिवारको लागि औषधोपचार सेवा र सुविधा अन्तर्गत सेनाले तीन लाख २४ हजार जनाको लागि ३० करोड ७० लाख रुपैयाँ खर्च गरेको पनि सहायक रथी तण्डुलले जानकारी दिए। 

गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित भएका सेना र उनका परिवारलाई क्षतिपूर्ति, किरियाखर्च र राहत रकम अन्तर्गत दुई अर्ब ४९ करोड ३४ लाख १७ हजार रुपैयाँ राहत रकम पनि सेनाले वितरण गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.