|

काठमाडौं : अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी धर्म पाख्रिन समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ वर्षदेखि थाइल्याण्डमा मंहगो लागूऔषध मेथ एम्फेटामाइनको कारोबार गर्दै आएका पाख्रिन समूहका दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।  

लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले नुवाकोट घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने प्रभाकर खनाललाई पुरानो बसपार्क र बालाजु बस्ने प्रदीपकुमार अधिकारीलाई बसुन्धराबाट पक्राउ गरेको हो। खनाल केही महिनादेखि भारतमा लुक्दै आएका थिए।

गत २०७२ फागुन २८ गते अष्ट्रेलियाको फ्रि स्ट्रिट, न्यु मार्केटबाट युनिस श्रेष्ठसँग रहेको चार किलो मेथ एम्फेटामाइन नामको लागूऔषध अष्ट्रेलियन फेडरल पुलिसले बरामद गरेको थियो। सोही लागूऔषध अष्ट्रेलिया पुर्‍याउने मुख्य भूमिकामा रहेका खनाल र अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठको बयान अनुसार लागूऔषध मेथ एम्फेटामाइन उनलाई साथी प्रभाकर खनालले लिन पठाएका थिए। पक्राउ परेका प्रदीपकुमार अधिकारीको निर्देशनमा खनालले श्रेष्ठलाई सामान लिन पठाएकाले उनीहरुको पनि संलग्नता रहेको आधारमा अष्ट्रेलियन फेडरल पुलिसको अनुरोधमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। 

यो समूहले लागूऔषध मेथ एम्फेटामाइन थाइल्याण्डबाट तस्करी गरी अष्ट्रेलिया पुर्‍याउने गरेका थिए। २०७२ चैत ७ गते ब्युरोले चीनबाट अष्ट्रेलियामा यो लागूऔषध पठाउने गिरोहका विक्रम लामिछाने र होमबहादुर तामाङलाई पक्राउ गरेको थियो। यिनीहरुलाई पक्राउ गरेपछि मात्र मेथ एम्फेटामाइनको कारोबार नेपालमा पनि हुने गरेको रहस्य खुलेको थियो। 

बर्माबाट चीन हुँदै अष्ट्रेलिया लगिएको ५४ किलोग्राम मेथ एम्फेटामाइनमा नेपाली पनि मुछिएको त्यतिबेला नै अष्ट्रेलियन फेडरल पुलिसले पत्ता लगाएको थियो। त्यसपछि यसको कारोबारमा संलग्न नेपालमा पनि हुनसक्ने आंशकामा खोजी गरेपछि ती दुई जना पक्राउ परेको ब्युरोका निर्देशक डिआइजी जयबहादुर चन्दले जानकारी दिए।

धर्म पाख्रिनले थाइल्याण्डमा बसेर बर्मामा लागूऔषध मेथ एम्फेटामाइनको उत्पादन केन्द्र र फिलिपिन्स, इन्डोनेसियालगायतका देशका बिक्री केन्द्रमा नेपाली एजेन्ट राखेका प्रहरीले जनाएको छ। धर्मका भाई पूर्ण पाख्रिनलाई ५० लाख रुपैयाँसहित नेपाल प्रहरीले पक्राउ गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.