|

काठमाडौँ: शरद ऋतुमा पर्ने नवरात्रभरि महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गरिन्छ। 

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। सज्जनको रक्षा र दुष्टको विनाशका लागि देवीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। 

मार्कण्डेय पुराणअन्तर्गत देवीमाहत्म्यअनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृलाई बुझिन्छ।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैँघरमा दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको आराधना गरिन्छ। यसैगरी नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक एक देवीको उपासना गर्ने परम्परा छ।

शैलराज हिमालयकी पुत्री भएकीले यिनको नाम शैलपुत्री रहेको हो। यज्ञकुण्डमा हामफाली प्राण त्यागेपछि यिनले यही रूप लिएकी थिइन्। यिनलाई शिवकी शक्ति मानिन्छ। वृष (साँढे) माथि बसेकी यिनले दायाँ हातमा त्रिशुल र बायाँ हातमा कमल लिएकी छन्। शैलपुत्रीको उपासनाले मनोरथ पूरा हुने विश्वास गरिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.