|

दमक : सरकारले प्राविधिक तथा व्यवसायमूलक शिक्षामा जोड दिए पनि उक्त विषयका विषयगत शिक्षकको समस्या समाधानमा चासो नदिँदा समस्यामा परेका छन्।

शिक्षालाई व्यवहारिक बनाउँदै रोजगारमूलक बनाउने उद्देश्यले कक्षा ९ बाट धेरै विद्यालयहरुमा प्राविधि शिक्षा पठनपाठन गरिन थालिएको भए पनि उक्त विषयका शिक्षकले भने सरकारले आफूहरुको समस्या समाधान नगरेको गुनासो गरेका छन्। सरकारले असोज ३ गते संसदबाट शिक्षा ऐन नवौँ संशोधन पास गरेपनि आफूहरुको समस्या प्रति कुनै चासो नदेखाएको गुनासो गरेका हुन्।

अन्य विषयका अस्थायी शिक्षकलाई स्थानीयमा लैजाने प्रक्रिया विद्येयकले सम्बोधन गरे पनि आफूहरुको विषयमा भने कुनै कुरा नउठाएको टेक्निकल टिचर एसोसिएसनका एक नम्बर प्रदेश महासचिव तथा स्वरस्वती माध्यमिक विद्यालय दमकका कम्युटर शिक्षक सिपी तिम्सिनाले गुनासो गरे। उनले भने, ‘अहिले देशमा प्रविधिक शिक्षा भनेर सबै अघि बढेका छन्, तर प्रविधिक विषयका शिक्षकको भने हालत यस्तो छ, कहिले र कसको चाहानामा जागिर जान्छ भन्ने पनि थाहा छैन।’

उनले आफूहरुलाई पनि स्थायी प्रक्रियामा लैजाने प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले भने, ‘हाम्रो लागि करारमा दरबन्दी दिइन्छ, हामीले वर्षौँदेखि यसरी नै पढाउनुपर्ने अवस्था छ, हामीलाई अब स्थायी बनाउने प्रक्रियातर्फ लागिनुपर्छ।’ प्राविधिक शिक्षाअन्तर्गत पर्ने कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, इलेक्ट्रिक, कृषि तथ पशु लगायतका विषयहरु पढाइ हुँदै आएको छ।

तिम्सिनाले आफूहरुले यो विषय पढ्दा मिहेनत र पैसा पनि उतिकै खर्च गर्नु परेपनि प्रतिफल सोँचे जस्तो नआएको गुनासो गरे। उनले राज्यले प्राविधिक शिक्षामा जोड दिएपनि यसका शिक्षकलाई भने सम्मान गर्न नसकेको बताए। उनले भने,‘ सरकारले त ब्यवसायिक शिक्षामा जोड दिने नारा मात्र लगाउँदो रहेछ, तर सचै ब्यबाहारमा उतार्दैन रहेछ, त्यसकारण हामी समस्यामा पर्यौँ।’

उनले आफ्ना समस्यालाई समाधान गर्ननै आआफूहरु एक भएर गत चैत्रदेखि टेक्निकल टिचर एसोसिएसन नै गठन गरेको बताए। उनले आफूहरुले शिक्षा मन्त्रीलाई समेत भेटेको तर मन्त्रीले समेत समस्या समाधानमा चासो नदेखाएको आरोप लगाए। उनले माग सम्बोधन नभए आन्दोलनमा उत्रन समेत तयार भएको बताए।

आफूहरुलाई पनि स्थायीको प्रक्रियामा लौजानुपर्ने मोरङ रतुवामाईस्थित महेन्द्र माध्यमिक विद्यालयका प्रविधिक विषयका शिक्षक अविचन्द्र नेपाल बताउँछन्। उनी भन्छन्,‘ हामी चाहिँ जहिले पनि विद्यालयमा विद्यार्थीलाई राम्रो कसरी बनाउँन सकिन्छ भन्ने सोँच्छौँ तर हाम्रो समस्याका बारेमा सरकारले सोचि दिएन।’

 प्राविधिक शिक्षा अध्यापन गराउँन धेरै समस्या भएको उनी बताउँछन्। उनी भन्छन्,‘ प्राय अहिले सबै विद्यालयमा प्राविधिक शिक्षा भनिने गरिन्छ, तर आवस्यक पूर्वधार पूरा नगरिकन विद्यालयमा पढाई हुने गरेको छ, यसले गर्दा हामी समस्यामा छौँ, कम्प्युटर शिक्षा भएका विद्यालयमा इन्टरनेट नै हुँदैन।’

उनले आफूहरुले अन्य शिक्षकहरुको भन्दा काम पनि धेरै गर्नु परेको गुनासो गरे। उनले भने,‘ हामीले एक दिनमा ५ वटा पिरियड भन्दा धेरै कक्षा लिनु परेको छ, यसो नगरे सम्म जागिर जाने चिन्ता हुँन्छ, हामीले विद्यालयका प्रधानध्यापक, ब्यवस्थापन समितिका पदाधिकारीलाई खुशी बनाउँन सकेनौँ भने कतिबेला जागिर जान्छ पत्तै हुँदैन।’ उनले कतिपय शिक्षकले त प्राविधिक विषयमा नियुक्त भएका शिक्षकले अरु विषय समेत पढाउँनु पर्ने समस्या रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.