|

लहान : जनयुद्धको समयमा प्लाटुन कमान्डरको भूमिकामा पहाडी र तराईका विभिन्न युद्धको मोर्चामा भिड्दा भिड्दै मुश्किलले बाँचेका ३५ वर्षीय गंगा पासवान कर्जन्हा नगरपालिका प्रमुखको कुर्सीसम्म आइपुगेका छन्।

साम, दाम, दण्ड र भेद प्रयोग नगरी चुनाव जितिँदैन, त्यसमा पनि भड्किलो र खर्चिलो बन्दै गएको निर्वाचन गरिबले जित्न त के लड्नै सक्दैन भन्ने मानसिकतालाई गलत सावित गर्दै पासवान नगरप्रमुख निर्वाचित भएका हुन्। 

सामान्य दलित परिवारमा जन्मिएर मावि तहमा पढ्दा पढ्दै ०५८ तिर जनयुद्धमा होमिएका पासवान जनमुक्ति सेनाको प्लाटुन कमान्डरको भूमिकामा काम गरेको सुनाउँछन्। ‘युद्धको समयमा उदयपुरको खुर्सानीटार, महोत्तरीको जलेश्वरमा तत्कालीन शाही सेनासँग जम्काभेट भएर पनि ज्यान जोगाएँ’ प्रमुख पासवानले सुनाए

‘२०५९ सालमा कर्जन्हानजिकै बन्दीपुरमा रहेको सेनाको ब्यारेक आक्रमणमा खुट्टामा चोट लाग्यो।’ केही दिन भूमिगत रुपमा उपचार गराएपछि सञ्चो भएर फेरि युद्धमा होमिएका पासवान शान्ति प्रक्रियापछि सेना समायोजनको क्रममा स्वेच्छिक बहिर्गमन रोजेर राजनीतिक फाँटको जिम्मेवारीअन्तर्गत पूर्णकालीन राजनीतिमा लागेको बताउँछन्।

खर्च गर्न नसके चुनाव जितिँदैन भन्ने कुरा गलत सावित

‘आफ्नै खेतबारीको उब्जनीले वर्षदिन पनि खान पुग्दैन’ प्रमुख पासवानले भने, ‘म पूर्णकालीन राजनीतिमा लागेकाले घरमा भएका बा, आमा, दाजुभाइहरुले मजदुरी गरेर पारिवारिक गुजारा चल्दै आएको छ।’ रकम खर्चन नसके चुनाव जितिँदैन भन्ने आमधारणालाई पासवानले गलत सावित गरिदिएका छन्। उनी भन्छन्, ‘जनताको काममा दैनिक रुपले जोडिएकाले चुनाव प्रचारप्रसारका लागि न्यूनतम् खर्चको व्यवस्थापन पार्टीले नै गर्‍यो।’

तीन छोरी र एक छोराका बाबु पासवान भन्छन्, ‘रकम कमाएर घरपरिवारको आर्थिक अवस्था उकास्न वैदेशिक रोजगारीमा पनि जान सक्थें तर गरिबीलाई आफैंले झेलेकाले भुइँ तहका जनताको लागि राजनीतिमै लाग्नुपर्छ भन्ने लाग्यो र पूर्णकालीन राजनीतिमा जोडिएँ।’

नेकपा (माओवादी केन्द्र) को जिल्ला सदस्य, विघटित महाधिवेशन आयोजक समिति सदस्य र वाइसिएलको केन्द्रीय सदस्य रहेका पासवानले भने, ‘निर्वाचनको समयमा प्रतिबद्धता गरेको गाँस, बास, कपाससहित स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गरी नगरलाई नमुना बनाउँछु।’

एकसत्यले बँचेकी श्रेष्ठ बनिन् उपप्रमुख

जनयुद्धको समयमा आन्तरिक रुपले पार्टीलाई सघाउँदा सघाउँदै पूर्णकालीन बनेकी कर्जन्हाकी उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ ०५८ को पहिलो युद्धविराम भंग भएपछि सुरक्षाकर्मीको आँखाको तारो बनिन्। सुरक्षाकर्मीले धुइँपताल खोज्न थालेपछि पार्टीकै योजना र निर्देशनमा तनहुँमा पार्टी काममा जोडिएकी श्रेष्ठ त्यसपछि जनकपुर आएर महिला संगठनमा काम गर्न थालिन्।

जनकपुरमा संकटकालकै समयमा माओवादी नेता अग्नि सापकोटाकी श्रीमती पक्राउ परेपछि साथीहरुकै सहयोगमा भूमिगत रुपले गोलबजार, लहान, बरियारपट्टीमा महिला संगठनको क्षेत्रीय इन्चार्जको भूमिकामा रहेर काम गरेकी उपप्रमुख श्रेष्ठ मधेस आन्दोलनको समयमा झन्डै मारिएको सुनाउँछिन्।

पार्टी अध्यक्ष प्रचण्ड चितवनमा सार्वजनिक हुने भएपछि पूर्वी कमान्ड इन्चार्जसमेत रहेका राम कार्कीसहितका नेताहरु लहान हुँदै चितवनतर्फ जाने क्रममा लहानमा रोकिए, ५ माघ ०६३ मा।

‘म पनि नेताहरु चढेको गाडी रोकिएपछि नजिकै थिएँ, गोली चलेर रमेश महतो त्यहीँ ढले’ उनले भनिन्, ‘त्यसपछि लहानमा के के भयो सबैलाई थाहा नै छ।’ ‘त्यसको एक दिनपछि मलाई लहान चोकमा जलाएर हत्या गर्ने योजना बनाएको सुनें’ उनले विगत सुनाइन् ‘त्यसपछि रातारात लहानबाट उदयुपर हुँदै सिरहाको धनगढीमाई नगरको ग्रामीण भेगमा केही महिना बसें, पार्टी खुला राजनीतिमा लागेसँगै केही सुरक्षित महसुस गरे।’

घरमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएका पति दुर्घटनामा मारिएपछि बन्दीपुर बजारमा रहेको घर बाहलबाट आउने रकमले नै छोरा बुहारी सहितको परिवारको जीविका चलाएर पूर्णकालीन राजनीतिमा रहेकी उपप्रमुख श्रेष्ठ भन्छिन्, ‘समाजमा महिलाहरुमाथि भइरहेको विभेदपूर्ण व्यवहारको अन्त्य गरी महिलाहरुलाई हरेक ठाउँमा समान अवसरका लागि काम गर्नेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.