|

काठमाडौं :  जिल्ला समन्वय समितिका प्रमुखहरूले जिल्ला समन्वय समिति सञ्चालन गर्न छुट्टै ऐनको माग गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले जिल्ला समन्वय समितिको अधिकार र कार्य क्षेत्रलाई स्पष्ट नगरेकाले उनीहरूले जिल्ला समन्वय समिति सञ्चालका लागि छुट्टै ऐनको आवश्यकता महसुस गरेका हुन्।

देशभरबाट काठमाडौंमा जम्मा भएका जिल्ला समन्वय समितिका प्रमुखको भेलाले व्यवस्थापिका संसद्बाट पारित भएको स्थानीय सरकार ऐनले जिल्ला समन्वय समितिलाई सम्बोधन गर्न नसक्ने बताए।

स्थानीय सरकार सञ्चालन ऐन व्यवस्थापिका संसद्ले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसको छ। ऐनले जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच विकास निर्माणका विषय पहिचान गर्न आवश्यक समन्वय गर्ने, जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको क्षमता विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने, गाउँपालिका र नगरपालिकाबीच कुनै विवाद भएमा विवादको समाधानका लागि समन्वय गर्ने जिम्मेवारी दिएको छ।

त्यसैगरी विकास निर्माणको काममा सन्तुलन कायम गर्न गैरसरकारी र निजी क्षेत्रबीच समन्वय गर्ने, जिल्लाभित्र विकास निर्माणका कार्य प्रभावकारी बनाउन वार्षिक रूपमा समीक्षा गरी प्रतिवेदन प्रदेश र केन्द्रीय संसद्लाई प्रदान गर्ने र जिल्लाका लागि आवश्यक बजेट केन्द्रीय सरकार र प्रदेश सरकारले उपलब्ध गराउने व्यवस्था छ।

काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले अहिले स्थानीय सरकार ऐनले समन्वय समितिको अधिकार र कर्तव्यलाई स्पष्ट नगरेकाले समन्वय समिति सञ्चालनका लागि छुट्टै ऐनको माग गरेको बताए। उनले भने, 'स्थानीय सरकार सञ्चालन ऐनले जिससको भूमिकालाई स्पष्ट गर्न नसकेकाले देशभरका जिल्ला समन्वय समितिका प्रमुखको भेलाले समन्वय समिति सञ्चालनका लागि छुट्टै ऐनको माग गरिएको हो।’

उनका अनुसार विद्यमान ऐनबाट जिल्ला समन्वय समितिले अनुगमन गर्दा कसरी गर्ने, अनुगमनमा आएका समस्याको समाधान कसरी गर्ने, अनुगमनका सूचक केके हुने लगायत विषयलाई समेट्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.