|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष प्रतिनिधिको रुपमा भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपालको राजनीतिक स्थिरता र विकास भारतको चाहना भएको बताएका छन्। 

मित्रराष्ट्र भारतको एक हप्ता लामो भ्रमणपछि मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताले नेपालको राजनीति र विकासका विषयमा चासो दिएको बताए।

‘मेरो भारत भ्रमणले निकट भविष्यमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालको औपचारिक भ्रमण गर्ने, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गर्ने हुनुभएको छ’, पत्रकार सम्मेलनमा निधिले भने।

उनले नेपालको संविधान कार्यान्वयन वर्तमान सरकारको पहिलो प्राथमिकतामा रहेको भारतीय नेताहरुलाई बताएको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारप्रति भारतीय सरकार र त्यहाँका राजनीतिक दलको ठूलो विश्वास रहेको बताए।

‘विगतमा नेपाल भारतबीच देखिएको केही उतार चढावको सम्बन्ध यो भ्रमणले अझ सुदृढ, सौहार्दपूर्ण र राम्रो भइसकेको छ’, उनले भने, ‘मलाई भारत सरकारले जुन सम्मान दिएको छ, त्यसैबाट पुष्टी हुन्छ की दुई देशबीचको सम्बन्ध कस्तो छ भनेर।’

उनले नेपालमा २०४६ साल, २०६२/०६३ सालको आन्दोलनमा सहयोग र समर्थन गर्ने राजनीतिक दलका नेतासँग पनि आफ्नो भेट भएको जनाउँदै नेपालमा राजनीतिक स्थिरता हुने भारतीय पक्षको विश्वास रहेको बताए।

निधिले कांग्रेस र माओवादीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गरेपछि नै संविधान कार्यान्वयन हुने बताए। उनले संविधान कार्यान्वयनको विषय नेपालकै आन्तरिक मामिला तर प्राथमिकताको विषय भएको बताए।

निधिले भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, कांग्रेस आईका नेता मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजसँग भेट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.