|

काठमाडौं : भूकम्पले क्षतिग्रस्त वागदरबारलाई काठमाडौँ महानगरपालिकाले वागदरबार परिसरमा निर्मित ‘हरिभवन’ दाबी गर्दै नयाँ निर्माणका लागि प्रस्तावित ‘डिजाइन’ सार्वजानिक गरेको छ। पुरातत्व विभाग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको सुन्धारास्थित उक्त भवन ऐतिहासिक ‘वागदरबार’ भएको दाबी गर्दै नभत्काउन आग्रह गरेका छन्। दुवै निकायको आग्रहलाई बेवास्ता गर्दै महानगरले भने पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि नक्सा सार्वजनिक गरेको छ।

महागरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरेर एक हिस्सामा आधुनिक टावर र त्यससँगै जोडेर परम्परागत ‘डिजाइन’को नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिएको छ। महानगरले बाहिरी डिजाइन सार्वजनिक गरे पनि भित्री संरचना कस्तो रहन्छ भन्ने विषयमा छलफलकै चरणमा रहेको जानकारी दिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नयाँ भवन ऐतिहासिक, लिच्छविकालीन र आधुनिक शैलीको मिश्रणमा निर्माण गरिने जानकारी दिए। महानगरका अनुसार भवनको पहिलो भाग ऐतिहासिक वागदरबार भवनको स्वरूप रहने गरी वागदरबारकै आकारमा तीन तला निर्माण हुनेछ भने दोस्रो भाग लिच्छविकालीन परम्परागत शैलीको डिजाइनमा हुनेछ। मल्लकालीन देखिन उक्त भाग साढे छ तलाको हुने महानगरले जानकारी दिएको छ।

यस्तै प्रस्तावित भवनको डिजाइनको तेस्रो भाग आधुनिक शैलीको हुने र त्यसमा महानगरपालिकाको पहिचान दिने भ्यू टावरको स्वरूपमा निर्माण गरिने पनि महानगरले जानकारी दिएको छ। यो भाग १५ तलाको हुने र सबैभन्दा माथिको तलाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृङ्खला दृश्यावलोकन गर्न सकिने जानकारी पत्रकार सम्मेलनमा दिइयो। भवनको डिजाइन गरेका इन्जिनियर प्रेमकुमार श्रेष्ठले भवनभित्र चार वटा परम्परागत मल्लकालीन शैलीका चोक प्रस्ताव गरिएको जानकारी दिए। उनले काठमाडौँमा लोप भएका पुरातात्विक चोकको स्वरूप भल्कने गरी डिजाइन गरिएको जानकारी दिए।

उनका अनुसार भवनको सम्पूर्ण प्यासेज, लबी र कोठामा उज्यालो हुने गरी डिजाइन प्रस्ताव गरिएको छ। त्यसैगरी भवन अपाङ्गतामैत्री हुनेछ भने दृष्टिविहीनका लागि साङ्केतिक टायल समेत राखिनेछ। भवनको भूमिगत तलामा झन्डै दुई सय गाडी र एक सय मोटरबाइक पार्किङ गर्न सकिने सुविधा हुनेछ भने भवनमा आकाशे पानीको सङ्कलन तथा प्रयोग गर्न मिल्ने गरी तयार गरिनेछ।

त्यसैगरी सोलार प्रणालीको जडान गरिने भवनमा लोप हुँदै गएका सम्पदा प्रदर्शनका लागि म्यु्जियम बनाइनेछ। १७ रोपनी सात आनामा फैलिएको उक्त भवन निर्माणका लागि एक अर्ब ५० करोड रुपियाँ लागत अनुमान गरिएको छ। उक्त भवन निर्माण सुरु भएको ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य महानगरको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.