|
फाइल फोटो

काठमाडौं : अबको केही दिनसम्म मुलुकभरि मौसम फेरबदल भइरहने छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रमा मौसममा परिवर्तन भई पानी र उच्च भेगमा हिउँ पर्ने छ। बङ्गालको खाडीको न्यून चापका कारण तुलनात्मक रूपमा पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको छ भने पश्चिमी क्षेत्रमा कम प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बङ्गालको खाडी र बङ्गालादेश आसपासमा बनेको न्यून चापीय क्षेत्र (लो प्रेसर सिस्टम) को प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा एकाएक मौसममा परिवर्तन भएको भन्दै थपे, ‘पूर्वीय न्यून चाप र पश्चिमी वायुको दबाबले अझै केही दिन यस्तो मौसम हुने सम्भावना छ।’

उनका अनुसार बङ्गालको खाडी र बङ्गालादेश आसपासमा हुने न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी वायुको प्रभाव केही दिन नेपालमा रहनेछ। यो प्रभावका कारण नेपालको मध्यक्षेत्र, पूर्वी पहाडी र पश्चिमी पहाडी क्षेत्रमा बादल लाग्नुका साथै ठाउँठाउँ हल्का पानी पर्नेछ। मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कलाई उद्धृत् गर्दै मौसमविद् कँडेलले मंगलबार मुलुकको पूर्वी क्षेत्रको धेरैजसो भूभागमा पानी परेको जानकारी दिए। मंगलबार धनकुटामा सबभन्दा बढी २६ दशमलव ७ मिलिमिटर पानी परेको छ।

मंगलबार मुलुकको कुनै पनि मौसम स्टेसनमा अधिकतम् तापक्रम ३० डिग्री सेल्सियस पुग्न नसकेको बताउँदै उनले सबभन्दा कम जुम्लामा एक दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जानकारी दिए। मंगलबार काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.