|

कपिलवस्तु :  जिल्लाको ३ प्रतिनिधिसभा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने भएको छ। रोचक के छ भने जिल्लामा वाम गठबन्धनका दुई उम्मेदवार भने स्वतन्त्र हैसियतका छन्। नेपाली कांग्रेस र राजपाबीच चुनावी तालमेल गर्ने सहमति भए पनि अन्तिम समयमा सहमति हुन सकेन।

वाम गठबन्धनको तर्फबाट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), क्षेत्र नं. २ मा राजपा छोडी स्वतन्त्र समूह गठन गरेका पूर्व कानुनमन्त्री बृजेशकुमार गुप्ता र क्षेत्र नम्बर ३ बाट पूर्व गृह राज्य मन्त्री ईश्वरदयाल मिश्रले उम्मेदवारी मनोनयन गरेका छन्।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. १ मा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय, क्षेत्र नम्बर २ मा पूर्व सांसद सुरेन्द्रराज आचार्य, ३ मा फोरम नेपालबाट कांग्रेस प्रवेश गरेका नेता अभिषेकप्रताप शाहले उम्मेद्वारी दिएका छन्।

वाम गठवन्धन र नेपाली कांग्रेसबीच तिब्र प्रतिस्पर्धा हुने ठानिएको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ। यहाँ पूर्वराजदूत उपाध्याय र माओवादी लडाकुका पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव )बीच प्रतिस्पर्धा हुँदैछ। २०७० सालको संविधानसभाको निर्वाचनमा यी दुई हस्तीबीच भिडन्त भएको थियो। तर दुबै पराजित भएका थिए।

प्रतिनिधिसभाको सदस्यमा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ शाक्ति नेपालको तर्फबाट दानबहादुर चौधरीले आफ्नो उम्मेदवारी दिएका छन्। त्यस्तै प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. ३ मा संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.