|

काठमाडौं : विभाजित १० माओवादी घटकको एकतापछि बनेको नेकपा माओवादी केन्द्रमा 'भावनात्मक एकता नभएको' असन्तुष्टि देखिएका बेला यसको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा नेतृत्व चयनका विषयमा विवाद भएको छ। बिहीबार बोलाइएको महिला संघ क्रान्तिकारीको एकता भेला एकपक्षले बहिस्कार गरेको हो।

एकता हुनुपूर्व भएको महाधिवेशनबाट एमाओवादी निकट अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष भएकी धर्मशिला चापागाईँ र महासचिव भएकी रेणु दाहालको समूहबीच पहिलेदेखि नै विवाद रहेको स्रोत बताउँछ। ‘धर्मशिला र रेणुबीचको विवाद पार्टी एकतापछि पनि कायमै रहेको देखियो, यसले संगठनलाई झन् भद्रगोल बनायो’ स्रोतले भन्यो।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको भेला धर्मशिला चापागाईँ नेतृत्वको समूहले बहिस्कार गरेको हो। कार्यक्रममा रेणु दाहाल, उर्मिला अर्याल, रेणु चन्द, अमृता थापा लगायतका टोली भने उपस्थित थिए।

दाहाल समूहले अमृता थापालाई संयोजक र अर्का एकजनालाई सहसंयोजक बनाउने तयारी गरेको थियो। दाहाल समूहले बादल समूहबाट आएकी थापालाई संयोजक बनाउने आन्तरिक तयारी गरेको थियो।

चापागाईँ समूह पनि थापालाई संयोजक बनाउन तयार थियो तर दाहाल समूहले एकजनालाई मात्रै सहसंयोजक बनाउने तयारी गरेपछि चापागाईँ समूहले त्यसलाई अस्वीकार गर्दै भेला बहिष्कार गरेको हो।

चापागाईँ समूहले एकताबाट आएका समूहका एक/एकजना नेतृलाई सहसंयोजक बनाउनुपर्ने माग राखेको थियो। ‘एकताको भावलाई समेट्ने गरी एकजनालाई संयोजक र अरुलाई सहसंयोजक बनाएर अघि बढौँ भन्दा रेणु दाहालले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो’ चापागाई समूहकी एक नेतृले भनिन्, ‘अरुसँग क्षमता छैन भन्दै सदस्य मात्रै बनाउने भनेर रडाको मच्चाएपछि हामीले भेला बहिष्कार गर्‍यौँ।’

स्रोतका अनुसार दाहालले एकताबाट आएकाहरुमा सहसंयोजक बन्ने क्षमता नभएको बताएपछि चापागाई समूहसँगै रहेका एकताबाट आएकी महिला नेतृ चिढिएका थिए। चापागाईँ, दामा शर्मा लगायतले दाहाल समूहले एकताबाट हेपिएको र पेलेर जाने रणनीति बनाएको आरोप समेत लगाएको छ। 

संगठनभित्रको विवादबारे बुझ्न चापागाईँलाई सम्पर्क गर्दा उनले आफू अस्पतालमा भएको बताइन्। ‘बुबा बिरामी भएर म अस्पतालतिर छु, मलाई केही नसोध्नुहोला, म बुबालाई बचाउनतिर मात्रै लागिरहेको छु’ उनले भनिन्। 

बादल निकट माओवादी केन्द्रका एक कार्यालय समिति सदस्यले एमाओवादीबाट एकताबाट आएकाहरुले एकतालाई कमजोर बनाउने मनसायले एकाधिकार जमाएको बताए। विवादपछि अनेमसंघ क्रान्तिकारी नेतृत्व छान्न असफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.