|

कपिलवस्तु : जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित क्रिकेटर फैजलुर रहमान (फैजल खाँ) को यतिखेर कपिलवस्तुमा छुट्टै चर्चा हुन थालेको छ। उनले मुलुकभित्र र बाहिर हुने प्रतियोगितामा शतक हानेर प्रशंसा बटुल्दै आएका थिए। अहिले वाम गठबन्धनबाट जिल्लाको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा उम्मेदवार बन्दै उनले आफ्नो जीवनको दोस्रो इनिङ सुरु गरेका छन्।

क्रिकेटमा सफलता हासिल गरिसकेका खां अहिले राजनीतिक दाउपेच सिक्दै मतदाता फकाउन घरदैलो, भेटघाट लगायतका कार्यक्रममा व्यस्त देखिएका छन्। ‘कडा संघर्षले खेलमा सफलता मिल्थ्यो,’ उनले भने, ‘त्यही अनुशासन र मिहिनेत गर्ने बानीको लाभ अहिले मिलिरहेको छ।’ खेलमा पाएको लोकप्रियताले चुनावी प्रचारप्रसारमा मद्दत पुगेको उनले बताए।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ का वाम गठबन्धनका साझा उम्मेदवार फैजलले विभाजित मधेसलाई जोड्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। मधेसको समाज विभाजित रहेकाले आफूले खेल मार्फत यो समाजलाई जोड्ने उनले बताए। राजनीतिमा क्रियाशील नभए पनि स्थानीयका समस्या बुझेका कारण नयाँ–नयाँ योजना ल्याएर जनताको काम गर्ने उम्मेदवार खाँको भनाइ छ।

जिल्लाको मायादेवी गाउँपालिका २ भैसकुण्डाका उनको सानैदेखि क्रिकेटमा क्रेज थियो। अहिले राजनीतिमा उस्तै क्रेज देखिन्छ। सन् २०११ बाट अन्तर्राष्ट्रिय खेल थालेका उनले त्यसयता पछाडि फर्किनुपरेन। २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेल खेलिरहेका थिए। २०११ मा थाइल्यान्डमा सम्पन्न एसीसी यू–१९ एलिट कपले उनलाई चर्चामा ल्यायो। उनले ओमानविरुद्ध १ सय १ रनको इनिङ खेलेका थिए। सोही वर्ष आयरल्यान्डमा यू–१९ विश्वकप छनोट हुँदै २०१२ मा मलेसियामा एसीसी यू–१९ एसिया कप र यू–१९ विश्वकप खेलेका थिए।

यू–१९ राष्ट्रिय छनोट प्रतियोगितामा पोखराविरुद्ध भैरहवाबाट खेलेर विस्फोटक ब्याटिङ गरेपछि उनी छनोटमा परेका थिए। उनले पोखराविरुद्ध १ सय ३१ रन बनाएका थिए। २०६९ मा पेप्सी स्ट्यान्डर्ड कप क्रिकेटमा एपीएफविरुद्ध फाइनलमा उनले १ सय २४ रन बनाए। सन् २०१३ मा धनगढीमा सम्पन्न एनपीएलमा १८ बलमा ६६ रन बनाएपछि उनको व्यक्तित्व माथि उठेको थियो। राष्ट्रिय स्तरमा पुलिस क्लब, भैरहवा क्षेत्र, ईपीएलको कलर्स एक्स फ्याक्टरबाट खेलेका उनी अलराउन्डर हुन्। ‘क्रिकेट खेलेर मुलुकका लागि राम्रो गरें,’ उनले भने, ‘त्यसरी नै राजनीतिमा नाम राख्छु।’

आफना भिनाजु तथा पूर्व सभासद सलाहुद्दिन खाँको प्रेरणाले राजनीतिसँग जोडिएका उनले १६ वर्षको उमेर देखी क्रिकेटसँग जोडिएका हुन्। युवाहरुमा बढदो विकृति, खल्बलिदो साम्प्रायिक सद्भाव, विकासको न्युन गतिले समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यताले आफूलाई राजनीतिसँग जोडिन मन लागेको उनी बताउँछन्। केही समयअघि एमाले सचिव प्रदीप ज्ञवालीबाट उनी एमालेमा प्रवेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.