भक्तपुर : २०४८ सालयताका सबै पाँचवटा चुनावमा भक्तपुर क्षेत्र नं. १ बाट विजयी भएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले यसपटक उम्मेदवारी नदिँदा धेरै आश्चर्यचकित भए। सँगसँगै नेपाल मजदुर किसान पार्टीका नयाँ उम्मेदवार प्रेम सुवालप्रति धेरैको ध्यान पनि खिचियो।
यसलाई धेरैले सुवालको चुनौतीको रुपमा लिएका छन्। कतिपयले बिजुक्छेंले सुवाललाई आफ्नो उत्तराधिकारीको रुपमा चयन गरेको पनि बताउँछन्। तर सुवाल भने यस विषयलाई सामान्य रुपमा लिन्छन् र आफूलाई बिजुक्छेंको उत्तराधिकारी भन्न नमिल्ने पनि बताउँछन्।
'अहिले पनि पार्टी अध्यक्षले नै सम्पूर्ण रुपमा कार्यकारी जिम्मेवारी लिदै आउनुभएको छ। उहाँले उम्मेदवारी नदिए पनि उहाँकै निर्देशनमा सडक र संसदमा भूमिका निर्वाह गर्ने हो। त्यस अर्थमा अध्यक्षले उत्ताराधिकारीको रुपमा मलाई अघि सारेको भन्न नमिल्ला' उनी भन्छन्। पार्टी अध्यक्षले ५ पटकसम्म संसदमा रही सेवा गरेको र अब नयाँ पुस्ता तयार गर्ने योजना अनुसार आफूले उम्मेदवारी दिएको सुवालको भनाइ छ।
जोगिएला बिजुक्छेंको लोकप्रियता र विरासत?
सुवालसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका बाबुराजा जोशी र वाम गठबन्धनका मिलन सुवाल प्रतिस्पर्धामा छन्। यसपटक बिजुक्छें चुनाव नउठ्दा अन्य दलले सहज महसुस गरेका छन्।
बिजुक्छेंको व्यक्तित्व र लोकप्रियताका कारणले नेमकिपाले चुनाव जितेको हो, यदि बिजुक्छेंको ठाउँमा अरु कोही उम्मेदवार हुने हो भने चुनाव जित्छौं भन्ने अन्य दलको दावीका कारण पनि यस पटक भक्तपुर १ को नतिजा सबैको चासोको विषय बनेको छ।
सुवालको उम्मेदवारीलाई भक्तपुर १ मा नेमकिपा, बिजुक्छें र स्वयं सुवालकै लागि परीक्षाको रुपमा लिइएको छ। कतिपय विश्लेषकहरुले अध्यक्ष बिजुक्छेंको लोकप्रियता परीक्षण गर्ने कसीको रुपमा पनि हेरेका छन्।
नेमकिपाको र अध्यक्ष बिजुक्छेंको साख र प्रतिष्ठासँगै विरासत समेत जोडिएको छ सुवालको उम्मेदवारीमा। सुवालले आफूले चुनाव जित्नु छ नै साथै बिजुक्छेंको लोकप्रियता र विरासत पनि जोगाउनु जिम्मेवारी काँधमा रहेको छ।
तर सुवाल भने व्यक्तिले चुनावमा केही फरक नपार्ने बताउँछन्। चुनावमा पार्टीको घोषणापत्र, नीति सिद्धान्तले महत्व राख्ने बताउने सुवाल पार्टीको चुनाव चिन्ह मादल नै भएकोले पनि अध्यक्ष र आफू उठ्दा फरक नपर्ने दावी गर्छन्।
पार्टीको पछिल्लो निर्णयले अध्यक्षको लोकप्रियता बढेको र नयाँ पुस्ता अघि सार्ने अध्यक्षको निर्णयले पहिलाको भन्दा यो पटक झन् मत बढ्ने दावी सुवालको रहेको छ।
को हुन् प्रेम सुवाल?
२०३४ सालदेखि सक्रिय रुपमा राजनीतिमा लागेका उनी २०३८ सालमा थापाथली इञ्जिनियरिङ कलेजमा नेपाल क्रान्तिकारी विद्यार्थीसंघको तर्फबाट स्ववियू उपसभापति पदमा उम्मेदवार बनेका थिए।
भक्तपुर क्षेत्र नं १ चोछें टोलमा जन्मिएका सुवाल २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सभासद बनेका थिए। मेकानिकल इञ्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह र वाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्।
फरक शैलीको चुनाव प्रचार
नेमकिपा अन्य प्रमुख दलहरुले भन्दा फरक शैलीमा प्रचार प्रसारमा जुटेको छ। अन्य दलहरु कार्यकर्ता भेटघाट, भेला र घरदैलो मार्फत चुनाव प्रचार प्रसारमा जुटिरहेको अवस्थामा नेमकिपा भने राजनैतिक कक्षा र प्रशिक्षण मार्फत मतदातालाई निर्वाचनको महत्व बुझाउँदै मत मागिरहेको छ।
घरदैलो, कोठे बैठक मार्फत पार्टीको घोषणापत्र र चुनाव चिन्ह भएको अपिल घर घरमा पुर्याउने काम तिव्र भइरहेको बताउँदै सुवालले थपे 'मतदातालाई राजनैतिक कक्षाको रुपमा पनि शिक्षित गर्ने हिसाबले विभिन्न कक्षाहरु सञ्चालन गरिरहेका छौं।'
हरेक दिन बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारणको भेला गरी निर्वाचनको क्रममा पार्टीले उठाउँदै आएका विषयमा जनतालाई जानकारी दिने र ती विषयमा संसदमा आवाज उठाउनका लागि पनि आफूहरुको जित आवश्यक भएको बताउँदै मतदाता सामु मत माग्ने कार्य तिब्र रुपमा भइरहेको सुवाल बताउँछन्।
जनताका अपेक्षा
चुनावबाट जनताले सामाजिक न्याय, आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर लगायत शिक्षा, स्वास्थ्य निःशुल्क पाऊँ भन्ने अपेक्षा व्यक्त गरेको सुवाल बताउँछन्। जनताले यो पटक स्वदेशमै रोजगारीको अवसरहरुको विकास भएको हेर्न चाहेको उनको अनुभव छ।
शिशुहरुको उचित पालन पोषणका निम्ति देशभरिका प्रत्येक वडाको टोल टोलमा शिशु स्याहार केन्द्र र बाल उद्यान केन्द्र होस्, जेष्ठ नागरिकले निर्वाहको लागि राज्यबाटै छुट्टै व्यवस्था भई दिए हुन्छ भन्ने आशा मतदाताले व्यक्त गरेका सुवाल बताउँछन्।
प्रतिस्पर्धीका बारेमा
भक्तपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका सबैलाई सुवालले प्रतिस्पर्धीको रुपमा लिएका छन्। 'उम्मेदवार भनेपछि प्रतिस्पर्धीकै रुपमा लिनुपर्छ। सामान्य अर्थमा पनि यही बुझिन्छ' उनी भन्छन्, 'चुनावको मुखमा हामीले कुनै निश्चित उम्मेदवारीलाई मात्र प्रतिस्पर्धी भन्दा अलि उपपुक्त नहोला, त्यसकारण भक्तपुर क्षेत्र नं १ मा जति पनि उम्मेदवारहरु हुनुहुन्छ, उहाँहरु सबै नेमकिपाका लागि प्रतिस्पर्धीकै रुपमा लिएको छु।'
चुनावी एजेण्डाहरु
नेमकिपाको पहिलो चुनावी एजेण्डा ठूला र मुख्य दलहरुको झुटा आश्वासनविरुद्ध भण्डाफोर गर्नु रहेको सुवाल बताउँछन्। '२८ वर्षमा नेपाली कांग्रेसले १० पटक, एमालेले ४ पटक र माओवादीले ३ पटक सरकार चलाए तर देश र जनताका हितमा केही काम गरेको देखिएन' उनले भने, 'कसैको पनि पालामा मजदुर वर्गको हकहितको निम्ति कुनै काम गरेको छैन। अहिले चुनावको मुखमा यो गर्छु, त्यो गर्छु भनी भुठो आश्वासन दिइरहेका छन्। पहिला हामी त्यो भ्रम चिर्ने प्रयास गर्छौं।'
अर्को, घोषणापत्रमा जे छ त्यो अनुसार देश र जनताको इमानदारितापूर्वक सेवा गर्ने एजेण्डा लिएर जनता माझ जनताको घरदैलोमा मत माग्न पुगेको सुवाल बताउँछन्। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी लगायतका तमाम विषयमा नीति निर्माण गर्न संसद र प्रदेशसभामा सक्रिय भूमिका निर्वाह गर्ने एजेण्डा बोकेको सुवालको भनाइ छ। त्यसैगरी भारतीय एकाधिकार पुँजीको विरोध गर्ने, बढ्दो महंगी, भ्रष्टाचारले जनतालाई निकै कष्ट पुर्याएको अवस्थामा त्यसको कडा विरोध गर्ने एजेण्डा नेमकिपाको रहेको उनी बताउँछन्।
जनताले नेमकिपालाई मत दिनुपर्ने कारण?
नेमकिपाले विगतदेखि देश र जनताका निम्ति गर्दै आएको काम र संघर्ष नै यसपटकको निर्वाचनमा मत दिनुपर्ने मुख्य कारण रहेको सुवाल बताउँछन्। 'पार्टीको स्थापना भागवण्डा, पहुँच र सहुलियतका लागि नभई देश र जनताकै निम्ति भनेर स्थापना भएको हो', उनी भन्छन्, 'नेमकिपाको इतिहास हेर्ने हो भने गरिब किसानको निम्ति मोहियानी हक आन्दोलन, भरपाई आन्दोलन र यो देशको सार्वभौमिकता रक्षार्थ १८/१९ सालदेखि पार्टीले उठाउँदै आएको राजनीतिक आन्दोलनमा अडिग भएर अगाडि बढेका छौं। त्यस कारण यी एजेण्डाको निम्ति जनताले नेमकिपालाई मत दिनु उपयुक्त हुन्छ भने हामी ठान्छौं।'
खर्चिलो चुनाव र नेमकिपाको मान्यता
निर्वाचन आयोगले बनाएको निर्वाचन आचार संहितामा पनि प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले २५ लाख र प्रदेशसभा उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको छ। यस विषयमा आयोगमा भएको छलफलमा नेमकिपाले यति धेरै रकम आवश्यक नभएको, मोटामोटी एक डेढ लाख मात्र राख्ने प्रस्ताव गरेको दावी सुवालको छ।
'निर्वाचनमा पैसा बाँडेर, भोजभतेर खुवाएर मत लिने होइन पार्टीको घोषणापत्र देखाएर मत माग्ने हो,” सुवालले भने, 'त्यसकारण हामीले पैसा खर्च गरेर चुनाव जित्ने र उठ्ने भन्दा पनि सिद्धान्त प्रचार प्रसार गर्ने हो। यही सिद्धान्त बोकी जनताको माझ जाने हो। त्यसअर्थमा आयोगको आचार संहिताले तोकेको त्यति धेरै रकम खर्च नहोला हाम्रो तर्फबाट।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।