|

कपिलवस्तुः वर्षौंदेखि अलपत्र रहेका विकास निर्माण आयोजना राजनीतिक दललाई भोट माग्ने बहाना बनेका छन्। दलका नेता चुनावअघि गाउँ नै छिर्दैनन् तर चुनाव लागेपछि पुराना बेवारिसे योजना लिएर समयमै सम्पन्न गर्ने झूठा आश्वासन बाँड्दै साझा एजेण्डा बनाउन थालेका छन्। 

जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले अहिले पनि जनतामाझ प्रदेश नं.– ५ को प्रदेश राजधानी कपिलवस्तु बनाउने एजेण्डालाई यस पटकको चुनावी नारा बनाएका छन्। सरकारले प्रदेश नं.– ५ को राजधानी बुटवल या दाङ बनाउने भनी तोकेको भए पनि प्रदेश राजधानीको मध्यभाग कपिलवस्तु पर्ने भन्दै अहिले उम्मेदवारहरूले यसलाई जोडतोडका साथ उठाएका हुन्। 

कपिलवस्तु भूगोलको दृष्टिकोणले समेत उपयुक्त भएको बताउँदै उम्मेदवारहरू चक्रपाणि खनाल (बलदेव), दीपकुमार उपाध्याय, ईश्वरदयाल मिश्र, बृजेशकुमार गुप्तालगायतले कपिलवस्तु राजधानी बनाउन उपयुक्त रहेको बताएका छन्। ‘कपिलवस्तु सांस्कृतिक हिसाबले धनी रहेको छ, यो सिंगै पुरातात्त्विक संग्रहालय हो’, कपिलवस्तु क्षेत्र नं.– १ का वाम गठबन्धनका उम्मेदवार बलदेवले भने, ‘यहाँ १३८ वटा बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको पहिचान भइसकेको छ। त्यसैले कपिलवस्तुमै राजधानी बनाउनुपर्छ। यसको अरू विकल्प छैन।’ 

उनले कपिलवस्तुलाई राजधानी बनाउनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको बताए। यस्तै सोही क्षेत्रका कांग्रेसका उम्मेदवार उपाध्यायले भने, ‘भौगोलिक हिसाबले पनि यो ठाउँ उपयुक्त छ।’ उनीहरू जस्तै अन्य उम्मेदवारको समेत कपिलवस्तु राजधानी बनाउनुको विकल्प नभएको बताउने गरेका छन्।

प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुनेमा स्थानीय युवा निरन्जन पौडेलले यी आधारसहित तर्क गरे। ‘यहाँ प्रदेशको राजधानी बनाउन आवश्यक सबै पूर्वाधार छन्। कपिलवस्तु ५ नं. प्रदेशको सबैभन्दा केन्द्रमा पर्छ। अन्य जिल्लामा भन्दा सार्वजनिक जग्गा यहाँ धेरै छ,  सबैको सहज र संगम स्थल कपिलवस्तु किन प्रदेशको राजधानी नहुने?’ उनले भने।

प्रदेश राजधानी कपिलवस्तु बन्नुपर्ने साझा एजेण्डा त जनतामाझ ल्याएका छन्, सँगसँगै अर्घाखाँची र प्युठानको सिमानामा पर्ने २४५ मेगावाट विद्युत् क्षमता भएको नौमुरे जलविद्युत् आयोजनासमेत कपिलवस्तुका उम्मेदवारले मुख्य चुनावी एजेण्डा बनाएका छन्। सरकारको नीति तथा कार्यक्रमअन्तर्गत एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाका रूपमा नौमुरेलाई प्रदेश नं.– ५ का लागि घोषणा गरे पनि काम अहिलेसम्म अघि बढ्न नसकेको उक्त आयोजनालाई नेताहरूले चुनावी मसला बनाउन भ्याएका छन्। 

क्षेत्र नं.– २ का प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार बृजेशकुमार गुप्ता र कांग्रेसका सुरेन्द्रराज आचार्यले अहिलेको चुनावको मुख्य एजेण्डा नौमुरे सिँचाइ आयोजनालाई अघि सारेका छन्। उक्त सिँचाइ आयोजनाबाट पानी ल्याएर कपिलवस्तुको भूमि सिँचाइ गर्ने र कृषिमा क्रान्ति गर्ने उनीहरूको चुनावी भाषणका विषय बनेका छन्। क्षेत्र नं.– ३ का कांगे्रसका उम्मेदवार अभिषेकप्रताप शाह, वाम गठबन्धनका उम्मेदवार ईश्वरदयाल मिश्र, संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ता, राजपाका नरसिंह चौधरीले समेत नौमुरे सिँचाइ आयोजनालाई मुख्य प्राथमिकता भन्दै मतदाता फकाइरहेका छन्। 

सदरमुकाम तौलिहवा–बहादुरगंजसम्मको २१ किलोमिटर बाटोलाई समेत उम्मेदवारहरूले चुनावी नारामा सीमित बनाएका छन्। पञ्चायतकालदेखि बहुदल हुँदै गणतन्त्रसम्मका सरकारका कैयौँ नेताहरूलाई आफ्नो मत दिएर जिताए पनि चुनावी नारामै सीमित बनाएको सर्वसाधारणको गुनासो छ। पंचायतकालीन नेतादेखि गणतन्त्रसम्म चुनावमा लड्ने उम्मेदवारले हरेक पटक हुलाकी सडक बनाउन पहल गर्छु भन्दै झूठो आश्वासन बाँडेको कृष्णनगर नगरपालिकाका दिनेश बर्मा बताउँछन्। जितेर गएपछि कसैले पनि यो बाटो निर्माणमा ठोस पहल नगरेको उनले गुनासो गरे। 

कहिले नेपाल सरकार त कहिले भारत सरकारको लगानीमा उक्त हुलाकी बाटो निर्माण हुने हरेक वर्ष चर्चा चलेर सेलाउने गरेको छ। भारतीय राजदूतावासले हुलाकी सडकको स्तरोन्नति गर्न २४ करोड रुपैयाँ दिए पनि तौलिहवा–बहादुरगंज हुलाकी सडक त्यसमा पर्न सकेन। निर्माण भएको छ दशक नाघिसके पनि तौलिहवा–बहादुरगंज सडको स्तरोन्नति अझै नहुँदा मतदाताले यसपालि पनि नेताहरूले झूठो आश्वासन बाँडेको बताउँदै आएका छन्। 

सामान्य पानी पर्दा सडक हिलाम्य हुन्छ भने घाम लागेको बेला धूलोले गर्दा बाटोमा हिँड्नै मुस्किल पर्ने स्थानीयको भनाइ छ। ‘जहाँतहीँ ठूलठूला खाल्डाखुल्डी परेको छ, हिँड्नै गाह्रो पर्छ’, महाराजगंजका नरसिंह कहारले भने, ‘बाटो यति खराब छ कि मोटरसाइकलमा २१ किलोमिटरको यात्रा तय गर्न दुई घण्टा बढी लाग्छ।’ बाटो बिग्रिएको भन्दै मर्मतको नाममा ग्राभेल र माटो राखिए पनि एक दुई दिनमै बाटो पुरानै हालतमा फर्किने उनले बताए। 

उता, लगातार तीन पटक प्रतिनिधिसभामा निर्वाचित भई वाम गठबन्धनको तर्फबाट यसपालि चौथो पटक उम्मेदवार बनेका बृजेशकुमार गुप्ताले हुलाकी मार्ग व्यापारिक दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै आफूले यसको स्तरोन्नतिका लागि पहल गर्ने बताए। उक्त बाटोको संरक्षण पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ५ ले गरिरहेको छ। दक्षिणी क्षेत्रका सर्वसाधारणलाई उक्त सडक कालोपत्रे नहुँदा समस्या भइरहेको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए।

कांग्रेस र वाम गठबन्धन दुवैले अबको पाँच वर्षमा जिल्लाका सबै बस्तीमा सडक पुर्‍याउने, तराईसित जोड्न फास्ट ट्र्याक बनाउने, भएका सडक स्तरोन्नति गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा जनतालाई पुर्‍याउने वाचा गरिरहेका छन्। जनतामाझ प्रचारमा जाँदासमेत दुवै उम्मेदवारले आ–आफूले बजेट पारेको दाबी गरिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.