|

रूपन्देही : कञ्चन गाउँपालिकामा समाहित भएको साबिकको रुद्रपुर गाविसमा तीनवटा मतदान स्थल छन्। यहाँका १५ हजार ६ सय ७७ मतदातामध्ये यहाँका अधिकांश मतदाताले यसपटक पनि लालपुर्जाकै आशमा मतदान गर्दै छन्।

३० सालतिर बसेको यहाँको बस्ती घना र बाक्लो हुँदै गए पनि अझै यहाँका ६ हजार घरधुरीसँग लालपुर्जा छैन। यहाँ हरेकजस्तो निर्वाचनमा जालपुर्जा प्रमुख मुद्दा हुन्छ। अहिलेसम्म जतिले जितेर गए सबै लालपुर्जा दिलाउने भन्दै जितेर गए। तर लालपुर्जा आएन। यसपटक यहाँका उम्मेदवारको प्रमुख एजेण्डा लालपुर्जा भएको छ।

‘नेताहरू निर्वाचनको बेला गाउँ जान्छन् र लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन्। तर निर्वाचन जितेपछि कोही फर्कन्नन्,’ स्थानीय भन्छन्। यहाँ एउटा बहुमुखी क्याम्पस, पाँचवटा उच्च मावि र पाँचवटा माविसहित २० वटा विद्यालय छन्।

सडक पिचको काम भइरहेको छ। पूर्व–पश्चिम राजमार्गलाई लुम्बिनी जोड्ने सडक यही बस्तीको बीचबाट गुज्रेर जान्छ। भौतिक रूपमा सम्पन्न छ, तर लालपुर्जा भने छैन। तर लालपुर्जा नभए पनि नियमित रूपमा घरधुरी कर पनि बुझाउँछन्, स्थानीय तहमा। घरघरमा बिजुलीका मिटर पनि छन्।

यहाँका अधिकांश सरकारी भवन पनि सुकुम्बासी बस्तीमा छन्। स्वास्थ्य चौकी भवन रहेको जग्गाको पनि लालपुर्जा छैन। प्रहरी कार्यालयको भवन बनेको जग्गाको लालपुर्जा छैन। यहाँका अधिकांश विद्यालय पनि यिनै लालपुर्जा नभएका जमिनमा छन्।

यहाँका जनताले लालपुर्जाकै आशमा हरेकपटक फरकफरक उम्मेदवारलाई विजयी गराउँदै आएका छन्। यस क्षेत्रमा लगातार रूपमा कसैले जित्न सकेको छैन। यसको कारण पनि लालपुर्जा नै हो।

‘यहीबाट विजयी भएकाहरू मन्त्री, राज्यमन्त्री र संसदीय समितिका प्रमुख पनि भए तर लालपुर्जा आएन,’ ३० वर्षीय टोपबहादुर पुनले भने, ‘दुईवटा निर्वाचनमा दुईपटक नै लालपुर्जाको नाममा भोट हालें तर आएन, फेरि पनि लालपुर्जाकै आसमा पुरानालाई किन दिने रु बरु नयाँ मान्छेलाई दिने नि!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.