|

भद्रपुरः झापा क्षेत्र नम्बर– ३ मा दुई पटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले यसपल्ट बदला लिएका छन्। 

वामपन्थीको तालमेलमा चुनावी मैदानमा उत्रिएका राप्रपा महामन्त्री लिङ्देनले झापा क्षेत्र नं.– ३ आफ्नो पकड जमाउन सफल भएका हुन्। लिङ्देनले उनका निकटतम प्रतिद्वन्द्वी सिटौलालाई १३ हजार ४५५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। 

लिङ्देनले ४४ हजार ६१६ मत प्राप्त गरेका छन् भने सिटौलाले ३१ हजार १५९ मत प्राप्त गरे। नेपालभर राप्रपाले प्रतिनिधिसभामा जीत हासिल गरेको यही क्षेत्रबाट हो। 

कांग्रेसको गढ मानिएको झापाको यस क्षेत्रमा वामपन्थीको सहकार्यमा राप्रपाले जीत हात पारेपछि सदरमुकाम भद्रपुरमा भव्य विजय उत्सव निकालेका थिए। उत्सवसहितको र्‍यालीमा हजारौँ कार्यकर्ता, शुभचिन्तकहरूको उत्साहपूर्ण सहभागिता थियो। 

पहिलो पटक संसदमा प्रतिनित्व गर्न अवसर पाएका लिङ्देनले भने, ‘झापा क्षेत्र नं.– ३ विकासको दृष्टिकोणले पछि परेकाले यसलाई विकासोन्मुख क्षेत्र बनाउने मेरो पहिलो जिम्मेवारी हो।’ यस क्षेत्रमा रहेका सडक, नदीनाला, हात्ती आतंक, गरिबी, चिया उद्योग र मजुदरलाई उच्च प्राथमिकता राखेको उनले बताए। राजेन्द्रप्रसाद लिङ्देन राप्रपाका महामन्त्री हुन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्देन २०७० सालमा राप्रपाको महामन्त्री भए। 

उनले यस ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक चुनाव लडेका थिए। उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्दै २०३९ सालदेखि राजनीति क्षेत्रमा प्रवेश गरेका हुन। राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत रहेका लिङ्गदेनले २०४९ र २०५४ सालको चुनावमा  गोलधाप गाविसमा वडाध्यक्ष विजयी भए।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित समेत भए। त्यस समयमा उनले जिल्ला विभिन्न क्षेत्रमा विकास कामलाई उच्च प्राथमिकताका साथ अघि बढाए। २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो भएका लिङ्देन २०७० सालको चुनावमा दोस्रो भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.