|

दमक (झापा): झापाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य  र दशवटै प्रदेशसभा सदस्यमा तीन दलीय गठबन्धनका उम्मेदवारले शानदार जीत हासिल गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धनका उम्मेदवारहरू झापाका सबै निर्वाचन क्षेत्रमा भारी मतसहित विजयी भएका हुन्। 

झापा क्षेत्र नं.– १ बाट प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की विजयी बनेका छन्। कार्कीले ३६ हजार १७३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका छन्। 

झापा क्षेत्र नं.– १ प्रदेश ‘ख’मा वाम गठबन्धनका एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी विजयी भएका छन्। उनले १७ हजार ८३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक पोखरेलले नौ हजार ९७८ मत प्राप्त गरेका छन्।  क्षेत्र नं.– १ मा कूल ७५ हजार ८७० मत खसेको थियो। 

यस्तै, क्षेत्र नं.– २ मा वाम गठबन्धनकै पवित्रा निरौला खरेल ४५ हजार ८१७ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिद्वन्द्वी उद्धव थापा ३१ हजार ५० मतमा सीमित भए।

प्रदेशसभामा वाम गठबन्धनकै एकराज कार्की र बिर्ख प्रधान निर्वाचित भएका छन्। त्यसैगरी झापा क्षेत्र नम्बर– ३ मा वाम गठबन्धनकै साथ पाएका राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका छन्। लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन्।्। लिङ्देन एमाले र माओवादी केन्द्रसमेतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए। 

देशैभर कांग्रेससँग तालमेल गरेको राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनलाई भने झापामा कांग्रेसले समर्थन नजनाएपछि वाम गठबन्धनले उम्मेदवार बनाएको थियो। लिङ्देनले सिटौलालाई करिब १३ हजार मतान्तरले हराएका हुन्। उनले ४३ हजार ११ मत ल्याएर विजय हासिल गरेका हुन् भने सिटौलाले ३० हजार २० मत प्राप्त गरे। प्रदेशसभामा पूर्णसिंह राजवंशी र वसन्त बानियाँले पनि वाम गठबन्धनबाटै जिते। 

त्यसैगरी झापाको क्षेत्र नं.– ४ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका एलपी साँवा १६ हजार ६९३ को मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी बने । साँवाले ४३ हजार ५१५ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८२२ मत प्राप्त गरेका छन्।  यस क्षेत्रमा कूल एक लाख नौ हजार ३९१ मतदाता रहेकामा ७७ हजार ३२५ मत खसेको थियो। प्रदेशसभामा वाम गठबन्धनकै हीरा थापा र झलकसिंह दर्लामी बिजेता बने। 

यसैगरी झापा क्षेत्र नम्बर– ५ को चुनावी परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्पर्धीलाई ठूलो मत अन्तरले जितेका छन्। ओलीले ५७ हजार १३९ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले भने  २८ हजार २९७ मत मात्र प्राप्त गरे। 

यस्तै, प्रदेशसभातर्फ वाम गठबन्धनकै हिक्मत कार्की र अर्जुन राई निर्वाचित भएका छन्। 

बढारियो कांग्रेस
२०४८ सालको निर्वाचनमा झापा जिल्ला लालकिल्ला बनेको थियो। तर २०५१ को निर्वाचनपछि झापामा क्रमिक रूपमा वाम बर्चश्व कमजोर हुँदै आयो। वाम शक्तिहरू कमजोर हुँदै जाँदा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, चक्रप्रसाद बाँस्तोला, केशवकुमार बुढाथोकीलगायतका नेताहरूको उदय भयो। 

पहिलो संविधानसभाको निर्वाचनमा आई पुग्दा पुनः झापा वाम वर्चश्वमा परे पनि मूल प्रवाहमा रहेको कम्युनिष्ट शक्ति नेकपा एमाले किनारामा धकेलियो। त्यस बेलाका सात निर्वाचन क्षेत्रमध्ये एक एक कांग्रेस र एमालेले जिते भने बाँकी माओवादीको पोल्टामा परेको थियो। 

पहिलो संविधानसभामा पराजयको पीडा व्यहोरेको एमालेले भने २०२८ सालको भूमिगत विद्रोहको शाख फेरि उकास्ने प्रयास ग¥यो। त्यसको परिणाम स्वरूप दोस्रो निर्वाचनमा सातमध्ये पाँच स्थान जित्न सफल भएको थियो। यस पटकको निर्वाचनमा भने दुई ठूला कम्युनिष्ट पार्टीहरू एक भएर निर्वाचन लडेका कारण जिल्लाको प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित हुन लागेको नेपाली कांग्रेसलाई बडार्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.