|

बाँकेः नेपालगन्ज उपमहानगरपालिका जयसपुरका मोहम्मद इस्तियाक राईको संसद भवनमा पुनरागमन भएको छ। 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं.– २ बाट संविधानसभा सदस्य (सभासद) मा निर्वाचित भएका राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुनः क्षेत्र नं.– २ बाटै उम्मेदवार बने पनि एमालेका दिनेशचन्द्र यादवसँग पराजित भए। 

राजनीतिसँगै नेपालगन्जमा व्यापार व्यवसाय संचालन गर्ने राई चलाख नेताको रूपमा परिचित छन्। उनी श्रम तथा रोजगारमन्त्रीसमेत भए। २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि उनको सिंहदरबारको रोकिएको यात्रा अहिले भएको प्रतिनिधिसभा निर्वाचनले पुनः खोलेको छ। 

उनले एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रलाई पराजित गरे। मिश्रले १५ हजार ९५१ मत पाउँदा उनले २१ हजार ५७५ मत पाएर विजयी भए। विजयी भएपछि उनले जनताको सेवा गर्ने धोका पूरा भएको बताए। जनताको सेवामा तत्पर रहने बताउँदै उनले निर्वाचनका बेला आफूले गरेका प्रतिवद्धता पूरा गरेर छोड्ने प्रतिक्रिया दिए। ‘मलाई जे कामका लागि जनताले पठाउनुभएको छ, त्यो मैले पूरा गर्नेछु’, उनले भने। 

उनले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, नेपालगन्जलाई डुबानबाट जोगाउने, प्रदेश राजधानी नेपालगन्जलाई बनाउन पहल गर्ने, सफा र सुन्दर नगर नेपालगन्जलाई बनाउने, राप्ती नदी डुबान, कटान र पटान नियन्त्रणको पहल गर्ने, नेपालगन्जमा विश्वविद्यालय स्थापना गर्ने, नेपालगन्जस्थित भेरी अंचल अस्पताललाई मेडिकल कलेजको रूपमा स्थापना गर्ने एजेन्डा निर्वाचनका बेला अघि सारेका थिए। ‘विशेष योजना बनाएर पाँच वर्षमा बाँकेवासीलाई नयाँपन दिनेछु’, उनले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.