|

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले अहिलेको मत परिणामलाई स्वच्छ किसिमले व्यक्त गरेको मत नभएको दावी गरेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कालोधनको खोलो बगाएर जनमतलाई पैसाले किन्ने काम भएको र झुक्याउने, ठग्ने गरी जनमत आकर्षित गरिएको उसले जनाएको छ।

'प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कालोधनको खोलो बगाएर जनताको मतलाई पैसाले किन्ने काम सर्बत्र भएको पाइयो' मोर्चाका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'यसका साथै जनतालाई झुक्याउने, ठग्ने, घेरावन्दी गर्ने, अपहरण गर्ने जस्ता काम पर्याप्त मात्रामा भएका छन् । त्यसैले यो मत परिणामलाई जनताले स्वच्छ किसिमले व्यक्त गरेको मतका रुपमा ग्रहण गर्न सक्ने स्थिति भएन।'

मतदाताले नेपाली कांग्रेस र यसको नेतृत्वको गठवन्धनलाई प्रतिकृयावादी शक्तिका रुपमा पहिचान गरेको तर वामपन्थी गठबन्धनको चरित्रलाई भने बुझ्न नसकेको देजमोले ठहर गरेको छ। 'नेपाली कांग्रेस र यसको नेतृत्वको गठवन्धनलाई प्रतिक्रियावादी शक्तिका रुपमा मतदाताले पहिचान गर्न सफल भएको पाइयो' विज्ञप्तिमा भनिएको छ 'तर झण्डै त्यही किसिमको कथित वामपन्थी गठवन्धनको जन विरोधी र प्रतिक्रियावादी चरित्रलाई मतदाताले ठिकसँग बुझ्न नसकेको पाइयो।'

प्रतिकुल अवस्थामा आफूहरु निर्वाचनमा सहभागी भएको भन्दै गजुरेलले देशभक्त जनगणतान्त्रिक मोर्चाको मतदातालाई धन्यवाद दिएका छन्। 'अत्यन्त प्रतिकुल परिस्थितिमा पनि विभिन्न प्रकारका धम्की, प्रलोभन आदिको सामना गर्दै  नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रत्यासी उम्मेदवारहरुको पक्षमा मतदान गर्ने आदरणीय मतदातालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै वहाँहरु प्रति आभार व्यक्त गर्न चाहन्छौं' उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.