|

दमक(झापा) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई कसरी विकास र संस्थागत गर्नुपर्छ भन्ने अब बामपन्थीहरुले देखाइदिने बताएका छन्। गृहक्षेत्र झापा क्षेत्र नं. ५ मा मंगलबार भएको विजयी सभामा उनले अत्तालिएकाहरुले वामपन्थीविरुद्ध भ्रम छरेको तर जनताले अलिकति पनि नपत्याएको प्रमाण नै निर्वाचनको परिणाम भएको तर्क गरे।

गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा भएको सभामा उनले त्यस भूगोलबाट आफूले पर्याप्त भोट नपाएको पनि गुनासो गरे। उनले भने, ‘देशभरी एकढंगको माहोल हुने अनि यहीँ चाहिँ केपी ओलीको भन्दा अरुले भोट धेरै पाउने, किन भयो यस्तो?’

 आफू देशभरिको चुनावी माहोलमा व्यस्त भएकाले गौरीगञ्जमा धेरै समय दिन नभ्याएको भन्दै उनले अझै पनि जनतामा केही भ्रम रहेको हुन सक्छ, यसलाई मसिनो ढंगबाट हटाउन कार्यकर्तालाई निर्देशन पनि दिए।

यस्तै, गौरादहमा भएको सभामा पनि उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘देशभरी यत्रो माहोल हुँदा पनि यहाँ किन केही मतदाताले ठुटा, मुडमा भोट दिए त्यसको खोजी गर्नुस् र केही भ्रमहरु रहेका छन् भने हटाउन लाग्नुस्।’

निर्वाचन एउटा लोकतान्त्रिक अभ्यास रहेको भन्दै एमाले अध्यक्ष ओलीले अब जित्ने र हार्नेका बीचमा कुनै पूर्वाग्रह नराखी समान र समानुपातिक ढंगबाट विकास गर्ने प्रतिबद्धता जनाए। अब गठन हुने सरकारले विकास र समृद्धिलाई केन्द्र भागमा राख्ने र सामाजिक न्याय तथा विकास निर्माणलाई दु्रुतता दिने उल्लेख गरे।

झापाको निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा विजयी भएका ओली सोमबार प्रमणपत्र ग्रहण र विजयी सभामा सहभागी हुन गृह जिल्ला आएका हुन्। उनी अपराह्नसम्म गृहक्षेत्रमा व्यवस्त हुने र त्यसपछि काठमाडांै फर्कने उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।

ओली प्रतिनिधिसभामा झापाको क्षेत्र नं. ५ बाट ५७ हजार १ सय ३९ मत प्राप्त गरेर विजयी भएका छन्। यो सार्वजनिक मतपरिणाम मध्ये देश भरिकै सवै भन्दा बढि हो। तर यति हुँदासमेत ओलीले आपूmले पाएको मत अझै कम भएको भनी टिप्पणी गरेका हुन्।

बाटैमा छेके जनताले

गौरादहको सभा लम्बिएपछि छोट्याउन कार्यक्रम सञ्चालकलाई ओलीका सचिवालयका प्रतिनिधिले हतार लगाइरहेका थिए। त्यसलगत्तै करिब १० किलो मिटर दक्षिणको गौरीगञ्जमा पनि कार्यक्रम तय भएको थियो।

गौरादहको कार्यक्रम छोट्याएर दक्षिण झर्दै गरेका ओलीको टोलीलाई ठाउँ ठाउँका जनताले बाटो छेके। पूर्व निर्धारितभन्दा फरक स्थानमा मतदाताहरु फूलमाला लिएर ओलीले स्वागत र सम्मानमा बसेका थिए। ग्वालडुब्बा बजारमा करिब १ सय को संख्यामा रहेका सर्वसाधारणले बाटै छेकिए दिए पनि ओली सवारीसाधनबाट ओर्लिएर करिब ५ मिनेट पैदलै हिँडेर सम्मान ग्रहण गरे।

त्यसपछि फेरि करिब ३ किलोमिटर दक्षिणको जुरोपानी चोकमा पनि सर्वसाधारण उसैगरी सडकमा थिए। त्यहाँसमेत सम्मान ग्रहणका लागि करिब ३ मिनेट पैदल नहिँडी ओलीले धरै पाएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.