|

उदयपुर : उदयपुरमा विजयी मात्र होइन पराजित उम्मेदवार पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा निस्किएका छन्। जित्नेहरु विजय जुलुस मनाउँदै मतदाताको घरदैलोमा पुगेका छन् भने हार्नेहरु पनि मतदातालाई धन्यवाद भन्न घर–घरमा पुगिरहेका छन्।

उदयपुर क्षेत्र नं. १ मा झिनो मतले परिजित वाम गठबन्धनकी उम्मेदवार मञ्जुकुमारी चौधरी मतदातालाई धन्यवाद दिन घरदैलोमा निस्किएकी छन्। उनी कांग्रेस उम्मेदवार डा. नारायण खड्कासँग ५४८ मत अन्तरले पराजित भएकी थिइन्।

खड्का विजय जुलुस नै लिएर घरदैलोमा निस्किएका बेला चौधरी गठबन्धनका नेता/कार्यकर्ता लिएर मतदातालाई धन्यवाद दिन पुगेकी हुन्। उदयपुर (१) ख मा साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर थापा मगर र चौधरी एकसाथ त्रियुगा नगरपालिका क्षेत्रमा पुगेका छन्। ‘हामीलाई पनि जनताले मत दिएका नै हुन्,’ पराजित उम्मेदवार थापाले भने, ‘हामीले नजिते पनि मतदाताले दिएको मतको लागि धन्यवाद दिन घर घरमा गएका पुगेका हौँ।’ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका हिमाल कार्कीले वाम गठबन्धनका थापालाई एक हजार ५२८ मतले पराजित गरेका थिए। उनीहरुसँगै प्रदेशसभा (क) मा विजयी एमालेका विमल कार्की पनि घरदैलोमा छन्।

प्रतिनिसभा क्षेत्र नम्बर २ मा रहेका तीनै सिटमा बाम गठबन्धनको जितेको छ। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई विजयी भएका छन्। उनले कांग्रेसका नारायणबहादुर कार्कीलाई पराजित गरे। चुनाव प्रचार÷प्रसारका क्रममा गराइएको विस्फोटमा परी गम्भीर घाइते भएका कार्की अहिले काठमाडौंमै छन्। तर, उनको तर्फबाट कांग्रेस नेता÷कार्यकर्ता घरदैलोमा छन्। प्रदेशसभा २ (क) मा वाम गठबन्धनको सहयोगमा विजयी स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगर तथा (ख) मा विजयी एमालेकी कला घले पनि विजय जुलुससहित मतदातालाई धन्यवाद दिँदै खुसी साटिरहेका छन्।

मतदाता भन्छन्- जित्नेको काम हेर्न बाँकी छ

प्राय उम्मेदवारले जिल्लाका सबै गाँउपालिका र नगरपालिकामा पुगेका सडकहरुलाई कालोपत्रे गर्ने, त्रियुगा, कमला, तावा खोली नदी नियन्त्रणमा गुरु योजना बनाउने, प्रत्येक स्थानीय तहमा प्राविधिक र व्यावसायिक शिक्षालगायतको नीति बनाई लागू गर्ने, हरेक स्थानीय तहमा २५ शय्याको अस्पताल निर्माण गर्ने लगायतका बाचा गरेका छन्।

सबै स्थानीय तहमा स्तरीय खेलकुद मैदान निर्माण गर्ने, एक घर एक रोजगारीको कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने लगायतका बाचा घोषणापत्रमा लेखिएका छन्। ‘अहिले जित्ने र हार्ने दुवै नेताहरु धन्यवाद भन्दै आएका छन,’ त्रियुगा नगरपाकिला ११ की मुना दाहालले भनिन्, ‘जित्नेका काम हेर्न बाँकी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.