|

उदयपुरः उदयपुरमा स्वतन्त्रसहित ३७ उम्मेदवारको जमानत जफत भएको छ। 

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेका स्वतन्त्र तथा राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने ३७ उम्मेदवारको कानुनबमोजिम जमानत जफत भएको बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ३७ जनाको जमानत जफत भएको छ’, उनले भने। जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ मा १० जना र २ मा नौ जना गरी १९ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारी पर्नेहरूमा प्रमुख दलबाहेक १५ जनाको जमानत जफत भएको सूचना अधिकारी खड्काले बताए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ अन्तर्गत प्रदेशसभा ‘क’बाट उम्मेदवारी दिएका आठ जनामध्ये छ र प्रदेशसभा १ ‘ख’बाट १० जनामध्ये आठ जनाको जमानत जफत भएको छ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ अन्तर्गत प्रदेशसभा ‘क’बाट चार जना र प्रदेशसभा २ ‘ख’बाट चार जना गरी आठ जनाको जमानत जफत भएको जानकारी दिइएको छ।

जिल्लामा नेकपा एमालेका तीन, नेपाली कांग्रेसका तीन र नेकपा माओवादी केन्द्रका तीन जना उम्मेदवारको मात्र कानुनबमोजिम जमानत जोगिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ मा ७४ हजार १०४ मत खसेकामा ६९ हजार २१५ मत सदर भएको थियो। क्षेत्र नं.– २ तर्फ ४२ हजार ८९१ मत खसेकामा ४० हजार २१९ मत सदर भएको थियो।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ अन्तर्गत प्रदेशसभा ‘क’तर्फ ३८ हजार ६३० मत खसेकामा ३६ हजार ४१२ मत सदर भएको थियो भने प्रदेशसभा १ ‘ख’तर्फ ३५ हजार ३५५ मत खसेकामा ३३ हजार ९२५ मत सदर भएको थियो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ अन्तर्गत प्रदेशसभा ‘क’तर्फ १७ हजार ९७० मत खसेकामा १७ हजार ११ मत सदर भएको थियो भने प्रदेशसभा २ ‘ख’तर्फ २४ हजार ८८९ मत खसेकामा २३ हजार ७२० मत सदर भएको थियो।

प्रतिनिधिसभामा जमानत जफत हुनेमध्ये पनि सबैभन्दा बढी मत क्षेत्र नं.– १ का नेकपा (माले) का रामप्रसाद चौलागाईंले पाएका छन्। उनले एक हजार २९५ मत पाएका छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ मा जमानत जफत हुनेहरूमा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र राई, संघीय समाजवादी फोरम नेपालका गोपाल राई, नयाँ शक्ति पार्टी नेपालका विश्वराज राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी) का कनकबहादुर रानामगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अम्बरबहादुर परियार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कसिककुमार राई, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) का गम्भीरबहादुर कार्की रहेका छन्। 

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ अन्तर्गत जमानत जफत हुनेहरूमा राष्ट्रिय जनता पार्टी नेपालका भूपेन्द्र राई, संघीय समाजवादी फोरम नेपालका विष्णुबहादुर राई दनुवार,  नयाँ शक्ति पार्टी नेपालका खुम्बराज खत्री, एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी)का गोपी गिरी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)का शंकर राई, नेपाल मजदुर किसान पार्टीका नैनबहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनका खड्गबहादुर किङरिङ मगर रहेका छन्।

यस्तै, चारैवटा प्रदेशतर्फ एक स्वतन्त्रसहित २२ जना उम्मेदवारको जमानत जफत भएको छ। प्रदेशसभा १ ‘क’मा संघीय समाजवादी फोरम नेपालका गणेशकुमार राईको सबैभन्दा बढी मत ल्याएर जमानत जफत भएको छ। राईले एक हजार ५४५ मत ल्याएका छन्। अन्यले त्यसभन्दा कम मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयले प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभातर्फ पाँच हजार रुपैयाँ धरौटी लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.