|

काभ्रपलाञ्चोक : घरनजिकैको अस्पतालमा आँखा जचाउँदा स्वास्थ्यकर्मीले एचआईभी संक्रमित भनेपछि एक महिलाले २४ घण्टा मानसिक तनाव झेलिन्। आँखाको उपचार गराउन गएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले एचआईभी भएको रिपोर्ट देखाएको हो।

लगत्तै धुलिखेल पुगेकी ती महिलाले पुनः रगत जचाउने क्रममा एचआईभी पोजेटिभ देखिएन। संक्रमण नै नभएको व्यक्तिलाई गलत रिपोर्ट दिँदा उनले ठूलो मानसिक तनाव झेलिन्।

उनलाई अस्पतालले एचआईभीको पुष्टि गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उपचार गर्न आनाकानी गरेका थिए। उनीहरूले आफ्नो उपकरणमा समस्या आएको छ कि भनेर दोहोरो रगत परीक्षणसमेत गराएनन्। सबै स्टाफलाई बोलाएर एड्स भएको भनेपछि ती महिला मानसिक तनावमा परेकी थिइन्।

सुरुमा पञ्जाविना रगत झिकेकोमा एचआईभीको संक्रमण देखिएको भन्दै स्वास्थ्यकर्मीले पछि डबल पञ्जा लगाएर छोएको उनले बताइन्। ‘आफूलाई एचआईभी भएको छैैन भन्न्ेमा ढुक्क थिएँ’, उनले भनिन्, तर संक्रमितलाई स्वास्थ्यकर्मीले नै कस्तो व्यवहार गर्दा रहेछन् भन्ने पनि बुझेँ।’

श्रीमान् र श्रीमतीको बीचमा पनि सहमति वा सम्बन्धित व्यक्तिको स्वीकृतिमा मात्रै खुलाउनुपर्ने गोपनीयताको ख्याल नराखी गलत रिपोर्ट दिई आफ्नो अधिकार र गोपनीयताको हक उल्लंघन गरेको भन्दै उनले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाहीको माग गरेकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.