|

काठमाडौं : एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि यस्तो संशय देखापरेको भनाइ नेतृत्व तहबाट आएको छ। 

अस्वस्थ भएपछि अध्यक्ष ओली राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा पनि सहभागी भएका छैनन्। चिकित्सकको सल्लाहअनुसार केही दिनको आरामको आवश्यकता देखिएपछि अध्यक्ष ओली चार–पाँच दिनदेखि घरमै आराम गरिरहेका छन्। उनीहरूबीच औपचारिक भेटघाट हुन नसके पनि टेलिफोनमा निरन्तर संवाद भइरहेको नेताको दाबी छ।

शीर्ष तहमा भइरहेका संवादका बारेमा तल्लो तहका नेता तथा कार्यकर्तासम्म जानकारी पुग्न नसक्दा पार्टी एकता प्रक्रिया लम्बिनुका बारेमा शङ्का उत्पन्न भइरहेको भनाइ माथिल्लो तहका नेताको छ। भेट हुन नसक्नुको कारणबारे जिज्ञासा राख्दा अध्यक्ष द्वयका सचिवालयबाट अरू कुनै कारण नभएर अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको कारण देखाइएको छ। प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा पनि अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित भएनन्। 

आइतबारदेखि बुधबारसम्म दुवै अध्यक्षको भेट हुने समाचारले मिडियामा चर्चा पाइरह्यो तर दुवै अध्यक्षबीच भेट हुन सकेन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार निर्वाचन क्षेत्र चितवनतिर लागेका छन्। चितवन महानगरपालिकाको परिषद् भेलाको उद्घाटन गर्न दाहाल चितवन गएको उनको सचिवालयले जानकारी दिएको छ।

उनी शनिबार काठमाडौं फर्किने कार्यक्रम छ। उहाँ फर्किए लगत्तै दुवै अध्यक्षबीच भेट हुने जानकारी दुवै पार्टीका सचिवालयले दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.